संसदको अवरोध हटाउन दुवै पक्षलाई राष्ट्रिय सभाध्यक्षको आग्रह

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ५ : २२


काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदमा भइरहेको अवरोध अन्त्य गर्न सरकार र प्रतिपक्षी दललाई आग्रह गरेका छन्।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै चालु अधिवेशनको प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकदेखि नै अवरोध भइरहेको छ।

प्रतिनिधिसभाको बैठकमा प्रमख प्रतिपक्षी एमालेका सांसदहरूले नाराबाजी गर्दै आएका छन्। राष्ट्रिय सभामा भने एमाले सांसदहरू उठेर विरोध जनाइरहेका छन्।

सोही क्रममा बिहीबारको राष्ट्रिय सभा बैठकमा पनि एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन्।

बिहीबारको बैठक सुरु हुनासाथ एमालेले सदन चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दललाई सदनको अवरोध वार्ता र संवादबाट समाधान गर्न आग्रह गरो हुन्।

बैठकमै अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय सदस्यहरु यहाँहरुले आफ्नो कुरा राखिराख्नु भएको छ। राष्ट्रले र सबैले यो सुनेको पनि छ। वार्ताको माध्यमबाट नै समस्या समाधान गरी संसदलाई नियमित चल्न दिनु नै उपर्युक्त हुन्छ।’

एमाले सांसदको विरोधबीच राष्ट्रिय सभाले विनियोजन विधेयक २०७८ पारित गरेको छ भने प्रतिनिधिसभाले विनियोजन विधेयक २०७८, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्