एएफसी महिला एसियन कप २०२२ छनोटअन्तर्गत समूह एफको खेल खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ।
नेपाली टोली बिहीबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो। नेपाली टोली उज्वेकिस्तान इस्तानबुल हुँदै काठमाडौ फर्किएको हो।
नेपालले उज्वेकिस्तानको जेएआर स्टेडियममा समूह एफमा दुई खेल खेलेको थियो। नेपालले पहिलो खेलमा फिलिपिन्ससँग २–१ को नतिजा गुमाएको थियो भने हङकङसँग गोलरहित बराबरी खेलेको थियो।
फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेका दुवै टोलीविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। तर दुई खेलबाट १ अंक जोडेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो।
नेपाली टोलीलाई महिला संघकी अध्यक्ष बृन्दा देवान र लिग कमिटी सह संयोजक रमेश रायमाझीले स्वागत गरेका थिए।