वडाध्यक्षलाई मन्त्रीले कुटेको भन्दै विरोधमा पौडेल समूह, ऐक्यबद्धता जनाउन पुगे प्रकाशमान

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ०३


सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा क्रियाशीलता सदस्यता विवादलाई लिएर नेता कार्यकर्ताले प्रदर्शन गरेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहको नेतृत्वमा सर्लाहीका बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोको समूहले क्रियाशीलता सदस्यता सच्याउन माग गर्दै प्रदर्शन गरेको हो।

वडाध्यक्ष महतोको समूहले केन्द्रीय कार्यालयमा रिले अनशन समेत गरिरहेको छ।

सानेपामा सर्लाहीका नेता कार्यकर्ताको प्रदर्शनमा ऐक्यबद्धता जनाउन पूर्वमहामन्त्री प्रकाशमान सिंह पुगेका थिए।

प्रदर्शनकारीले विधानसम्मत क्रियाशील सदस्यता लागु गर, गुण्डागर्दी बन्द गर, कार्यकर्ता कुट्न पाइँदैनु जस्ता नारा लगाएका थिए।

वडाध्यक्ष महतोको नेतृत्वमा प्रदर्शनकारी र कांग्रेसका प्रदेश २ मा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहबीच बुधबार केन्द्रीय कार्यालयमा भनाभन तथा धकेलाधकेल समेत भएको थियो।

उक्त घटनामा मन्त्रीले वडाध्यक्षलाई कुटपिट गरेको भन्दै प्रदशर्नकारीले नाराबाजी गरेका थिए ।

सर्लाही क्षेत्र नम्बर ४ मा आफूले सिफारिस गरेका क्रियाशील सदस्यको नाम क्षेत्रीय रामअश्रेय साह र जिल्ला सभापति नागेन्द्र राय प्रदेश मन्त्री सिंहले काटेर आफ्ना मान्छे हालेको भन्दै अमरेशकुमारको समर्थनमा बरहथवा नगरपालिका–४ का वडाध्यक्ष महतोको नेतृत्वमा रिले अनशन तथा प्रदर्शन भइरहेको छ।

जिल्ला सभापति रायको समूहले भने अमरेश समूहबाट क्रियाशीलतामा भएको अनियमितता सच्याएको दाबी गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्