दीपकराज र दीपाश्रीसँग मिलेर ‘कालो कोट’ बनाउँदै रोहित अधिकारी

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १ : ३७


निर्माता रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर नयाँ चलचित्र बनाउने भएका छन्। यसअघि ‘छ माया छपक्कै’ निर्माण गरेर टिमअप भएका रोहितले ‘कालो कोट’ शीर्षकमा चलचित्र बनाउने तयारी थालेका हुन्।

प्रदीप भारद्वाजले लेखिरहेको चलचित्रको हाल कास्टिङको काम चलिरहेको छ। ‘सोसल कमेडी’ विधाको यो चलचित्रमा निर्माण टिमले सौगात मल्ललाई एन्टागोनिस्टका लागि अफर गरेका छन्। सौगातले यो भूमिका स्वीकार गरे दीपक–दीपा समूहसँग उनको सहकार्य पहिलो हुनेछ।

यस अगाडि दीपक–दीपाले दयाहाङ राईसंग ‘वडा नम्बर ६’ मा काम गरिसकेका छन्। फिल्ममा तीन अभिनेत्री रहने छन्। यसका लागि स्थापित अभिनेत्रीसँग कुरा भइरहेको निर्माण टिम स्रोतले बतायो।

‘कालो कोट’ को निर्देशन सिमोस सुनुवारले गर्ने बताइको छ। यसअघि पनि विभिन्न स्क्रिप्टमा सिमोस र दीपक(दीपाको समूहबीच छलफल भइसकेको छ। तर, सहकार्य हुनसकेको छैन।

दीपाश्री निरौलाले ‘छक्का पञ्जा’ सिरिज मात्र निर्देशन गर्ने मनस्थिति बनाएकाले अन्य शीर्षकका चलचित्रमा नयाँ निर्देशक रहने छन्।

यसअघि ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका थिए। चलचित्रमा दीपक–दीपाको समूहबाट दीपक–दीपा र माग्ने बूढा केदार घिमिरे मात्र साझेदारको रूपमा रहने छन्। कोरोना भाइरस महामारी नियन्त्रणमा आए तिहारपछि सुटिङमा जाने रोहित र दीपक–दीपा समूहको तयारी छ।


प्रतिक्रिया दिनुहोस्