६ भारतीय नम्बर प्लेटका ट्रकसहित ३३ लाख मूल्यको अवैध केराउ बरामद

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १२ : ०४


कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भारत तर्फ चोरी निकासी गर्न लागेका ३३ लाख मूल्यको अवैध केराउ पक्राउ भएको छ।

कृष्णनगर भन्सार नाका हुँदै लैजान लागेको साढे २२ टन केराउ प्रहरीले बुधवार राति पौने १० बजे बरामद गरेको थियो। प्रहरीले अवैध निकासी प्रयोजनमा प्रयोग भएका ६ वटा भारतीय मालवाहक ट्रकसमेत नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णनगर र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले नगरपालिका–१ दृष्टान्त पेट्रोल पम्प अगाडि र वडा नं. २ गल्ला मन्डीदेखि अवैध केराउसहितको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

भण्डारीका अनुसार नेपालमा सामाग्री ढुवानीपछि खाली जानुपर्ने भए पनि निर्यात प्रतिबन्ध लागेको केराउ लुकाएर लैजान लागेको अवस्थामा फेला पारेको बताए।

कुल नौवटा ट्रकमा अवैध केराउ ओसारपोसार गर्न खोजिएको थियो। तीमध्ये ६ सवारी साधन प्रहरीले पक्राउ गरेको थियो। दुई सवारी साधन कृष्णनगर भन्सार कार्यालयको पार्किङ यार्डभित्र छिराएको थियो भने एउटा ट्रक भारततर्फ प्रवेश गरेको थियो।

प्रहरीले यु.पि. ३५ टि २४५३, यु.पि. ५३ टि ३६३८, यु.पि. ७१ टि ११४८, यु.पि. ५५ टि १२५४, यु.पि. ५५ टि ०९६६, यु.पि. ७८ ए टि ८८२५ नम्बरका ट्रक पक्राउ गरेको बताइएको छ । पक्राउ गरेका ट्रक र केराउ राजस्व अनुसन्धान कार्यालय बुटवल लैजाने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्