कोरोना खोप लगाइदिएको भन्दै क्यानेडेली पुरुषले कुटे नर्स

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ३५


आफ्नी पत्नीलाई बिना अनुमति कोरोना खोप लगाइदिएको भन्दै क्यानडाका एक व्यक्तिले नर्सको अनुहारमा मुक्का हानेका छन्।

क्युबेक प्रान्तस्थित एक सहरको औषधि पसलको कार्यालयमा खोप लगाउन खटिएकी नर्समाथि मुक्का प्रहार भएको हो। क्यानडामा अस्पताल क्षेत्रनजिक खोपविरोधी प्रदर्शन चर्किरहेका बेला पछिल्लो घटना सार्वजनिक भएको हो।

सरकारले अनिवार्य खोप र मास्क लगाउनुपर्ने नियम लगाएपछि कतिपयले त्यसको विरोध गरेका छन्। सरकारले खोपविरोधी प्रदर्शनमा रोक लगाइने कानुन ल्याउने तयारी गरेको छ।

नर्सलाई कुटेपछि फरार ती व्यक्तिले खोपको विरोध गरेका हुन् वा उनकी पत्नीले पहिल्यै खोप लगाएकी थिइन् भन्ने बारेमा प्रष्ट खुलाइएको छैन।

क्यानडामा खोपबिरोधी प्रदर्शनमा स्वास्थ्य क्षेत्रलाई निसाना बनाइएको छ। विशेषगरी अस्पताल र स्वास्थ्य उपचारकर्मीमाथि बारम्बार आक्रमण भएको छ।

प्रधानमन्त्री जस्टिन ट्रुडोले स्वास्थ्यकर्मीमाथि भएका आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्ने बताउँदै आएका छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस्