आसेन्सियोको ह्याट्रिकमा रियल मड्रिडको फराकिलो जित, शीर्ष स्थानमा उक्लियो

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ५३


मिडफिल्डर तथा अट्याकर मार्को आसेन्सियोको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रीडले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बुधबार राति भएको खेलमा रियलले मालोर्काविरुद्ध ६–१ गोल अन्तरको फराकिलो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ।

रियलको पाँचौ जितमा मार्को आसेन्सियोले ह्याट्रिक गोल गरे भने करिम बेन्जेमा २ गोल गर्दा इस्कोले १ गोल थपे।

यस्तै, मालोर्काका लागि दक्षिण कोरियाली खेलाडी काङ इन लिले १ सान्त्वना गोल गरे।

खेलको तेस्रो मिनेटमै अनुभवी स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। २४ मिनेटमा एसेन्सियोले गोल गरे। उनले २९ र ५५ मिनेटमा गरि ह्याट्रिक पूरा गरे । यस्तै बेन्जेमाले ७८ मिनेटमा दोस्रो गोल गर्दा इस्कोले ८४ मिनेटमा गोल गरे ।

जितसँगै ६ खेलबाट ५ जित र १ बराबरी सहित १६ अंक सहित शीर्ष स्थानमा छ । समान ६ खेल खेलेको एट्लेटिको मड्रिड १४ अंकसहित दोस्रो स्थानमा छ । पराजित मालोर्का ६ खेलबाट ८ अंकसहित आठौँ स्थानमा छ ।

बुधबार रातिको अर्को खेलमा भिल्लारियलले इल्चेलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।


प्रतिक्रिया दिनुहोस्