परराष्ट्रमन्त्री थपिए पनि मन्त्रिपरिषदले पूर्णता पाउने अझै सुरसार छैन

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ३७


नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ७३ दिन पुग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

राष्ट्रसंघ महासभामा प्रतिनिधित्व अनिवार्य भएपछि देउवाले आफू नेतृत्वमा आएको ७२औँ दिन अर्थात् बुधबार नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाए पनि १६ मन्त्रालयको भार एक्लैले थामिरहेका छन्।

गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा र ऊर्जा पम्फा भुसालले २९ असारमै नेतृत्व सम्हालेका थिए भने उमेश श्रेष्ठ १० साउनमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए।

सत्ता गठबन्धनमा मन्त्रीको भागवण्डा र मन्त्रिपरिषद् विस्तारकै कारण घटक दल विभाजन हुनसक्ने भयका बीच मन्त्रिपरिषद् विस्तारमा अस्वभाविक ढिलाइ भइरहेको हो।

मन्त्रिपरिषद् विस्तारका लागि बुधबार गठबन्धनका नेताहरू छलफलमा थिए। तर, बैठक अनिर्णीत बनेपछि आज बिहीबार फेरि बस्दैछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठक बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

नेकपा एकीकृत समाजवादी सर्वोच्च अदालतमा विचाराधीन दल विभाजनसम्बन्धी मुद्दाको टुंगो लागेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने पक्षमा छ, भने जनता समाजवादी पार्टी राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म मन्त्रीको नाम नदिने अडानमा छ।

अध्यादेश खारेज नहुँदै सरकारमा सहभागी भएमा असन्तष्ट पक्षले केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएर पार्टी विभाजन गर्न सक्ने भय अध्यक्ष उपेन्द्र यादवलाई छ।

बुधबारको बैठकमा सत्ता गठबन्धन कांग्रेस, नेकपा माओवादी, नेकपा एस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरूबीच छलफल भएको थियो।

सरकारले यसअघि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा एमाले र जनता समाजवादी विभाजन भएर क्रमशः नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी भएका थिए। तर, उक्त अध्यादेश निस्क्रिय भइनसकेकाले सत्ता गठबन्धनकै दल त्रासदिमा छ।

सत्ता पक्षले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक अगाडि बढाउने तयारी गरिरहेको छ । विधेयक संसदमा पेस हुनासाथ मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन्।

२५ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री, माओवादी केन्द्रले ६ मन्त्री र एक राज्यमन्त्री गरी सात, नेकपा एसले पाँच मन्त्री र एक राज्यमन्त्री गरी ६ जना, जसपाले चार मन्त्री र एक राज्यमन्त्री गरी पाँचको भाग पाएको छ।


प्रतिक्रिया दिनुहोस्