भारतले थप १० लाख डोज कोभिशिल्ड खोप चाँडै उपलब्ध गराउँछः राजदूत आचार्य

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ३३


भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले उपलब्ध गराउने भनेको थप १० लाख डोज कोभिशिल्ड खोप नेपालले छिट्टै पाउने बताएका छन्।

नेपालले गत वर्ष भारतको पुनेस्थित सेरम इन्स्टिच्युटबाट माग गरेको २० लाख डोज कोभिशिल्ड खोपमध्ये बाँकी १० लाख डोज अझै पाएको छैन। खोप अभाव देखाउदै भारतले नेपाललाई थप डोज मे महिनामा रोकेको थियो।

‘आउनुपर्ने बाँकी १० लाख डोजसहित खोप आपूर्ति पुनः सुरु हुने आशा गरेका छौं। कोभिडविरुद्धको लडाइँमा हामीले भारतबाट अक्सिजन प्लान्ट र औषधिसमेत प्राप्त गरेका छौं,’ भारतीय समाचार संस्था एएनआईलाई आचार्यले भनेका छन्।

कोभिड नियन्त्रणमा भारतले गरेको सहयोगप्रति राजदूत आचार्यले धन्यवादसमेत दिएका छन्। भारतले नेपाललाई २० लाख खोप बिक्री गर्ने र १० लाख अनुदान दिने जनाएको छ।

अर्को एक प्रसंगमा राजदूत आचार्यले उत्तराखण्डमा नेपाल र भारतका सेनाबीचको सैन्य अभ्यास ‘रक्षा सहकार्यको उत्कृष्ट उदाहरण’ भएको टिप्प्णी गरेका छन्। सीमा क्षेत्रमा केही समस्य देखिए पनि यसले दुई देशबीचको सम्बन्धमा फरक नपार्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस्