‘वर्ल्ड हाप्किडो च्याम्पियनसिप’का लागि ९ खेलाडी छनोट

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : २२


नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वर्ल्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ।

पोखरामा एक महिनाअघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ।

बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरे।

रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ। नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घ गण्डकीका उपाध्यक्ष तारा थापामगरले एक महिना लामो बन्द प्रशिक्षण समापन गरिएको र केही दिनको आरामपछि पुनः रसिया जानु १० दिन अगाडि काठमाडौँमा प्रशिक्षण सञ्चालन गरिने जानकारी दिए।

उनका अनुसार हाप्किडो सङ्घका प्रमुख प्रशिक्षक सुष्मिता गुरुङ नेतृत्वमा रसिया जाने खेलाडीमा चार महिला र चार पुरुष खेलाडी छन्। सहभागी हुने खेलाडीमा भुवन बुढामगर, प्रविन गुरुङ, कृति गिरी, विजयाकुमारी वाइबा, गङ्गा घर्तीमगर, नवीना श्रेष्ठ, गुमान घर्तीमगर र गणेश केसी रहेका छन्।


प्रतिक्रिया दिनुहोस्