जुम्ली किसानलाई भालुबाट मकै जोगाउने पिरलो

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ३१


जुम्ला । यति बेला जुम्ली किसानलाई भालु बाट बकै जोगाउने पिरलो छ।

यहाँका स्थानीय भालु भगाएर मकै जोगाउनका लागि रातभर जाग्राम बस्न थालेका छन्। बारीमा लगाएको मकै बाली बचाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको तिला ६ रिपी गाउँका नरिमान रावतले बताए।

उनले भने, ‘भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेका छौँ। हाम्रो मुख्य बाली नै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हुँदैन। यही मकै भालुले सखाप पार्न थालेपछि चिन्तित बनेका छौँ।’

उनले भालु भगाउन हरेक बारीमा तर्साउने वस्तु राखिएको बताए।

भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने गरिएको उनको भनाइ छ। ‘कहिलेकाहीँ थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छु, उनले भने, ‘भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन। बारीमा एक्लै हिँड्नसमेत सकस हुने गरेको छ।’

उनका अनुसार यस क्षेत्रमा अन्नबाली उत्पादन नै कम हुन्छ।

त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन्। अधिकांश किसानले खेतबारी वरिपरि मान्छे जस्तै आकृित बनाएर राख्ने गरेका छन्।

दिउँसो मानिसको व्यापक चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ। तर, रातिको समयमा बारीमा पसेर अन्नबाली खाएर सखाप पारिदिन्छ। ‘बारीमा कुकुर बाँधेर राख्ने, मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ। अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ’, उनले भने।

यहाँका किसानका लागि भालु भगाउने समस्या भने यो पहिलो होइन। बर्सेनि भालुले बालीमा नोक्सानी पुर्‍याउने गरेको यहाँका किसानको गुनासो छ। अहिले जिल्लाभर भालुको बिगविगी बढेको छ। यहाँका स्याउ बगैँचा, मौरीका घारदेखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन्।

यसअघि आहाराको खोजीमा भालु जुम्ला सदरमुकाम खलंगा बजारमा पसेको थियो । त्यस बेला सदरमुकामको मुटुमै तीन जनालाई आक्रमण गरेको थियो। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा भालु मारिएको थियो।


प्रतिक्रिया दिनुहोस्