युरोपेली राष्ट्र लिथुआनियाका उप–रक्षामन्त्री मार्गिरिस अबुकिभिसियसले चिनियाँ स्मार्टफोनहरु फ्याँक्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका छन्।
रोयटर्सका अनुसार रक्षा मन्त्रालयले आफ्ना नागरिकलाई चिनियाँ प्राविधिक उत्पादन प्रयोग नगर्न आग्रह गरेको हो।
उक्त देशको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले चिनियाँ फाइभ जी फोनको परीक्षण गरेर एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। अनुसन्धान अनुसार साओमी र हुवावेको फोनमा साइबर आक्रमणसँग जुध्ने पर्याप्त क्षमता छैन।
अर्थात् यी फोनहरु सजिलै ह्याक हुन सक्छन्। यो अनुसन्धान पछि नै हुवावेले लिथुआनियाबाट आफ्नो प्रयोगकर्ताको डेटा बाहिर पठाउन नमिल्ने बताएको छ। तर उप–रक्षामन्त्री मार्गिरिसले सिधै चिनियाँ फोन खरिद नगर्न भनेका छन्।
साओमीको एमआई फोनमा सेन्सरसिप टुल्स भएको पनि अनुसन्धानमा बताइएको छ। सो फोनमा चीनविरुद्ध लेख्न नमिल्ने प्रोग्राम छ। अर्थात् स्वतन्त्र तिब्बत, ताइवान जिन्दाबादजस्तो शब्द लेख्न पाइँदैन।
उप–रक्षामन्त्री मार्गिरिसले आफूसँग भएका चिनियाँ फोनहरु पनि नचलाउन र चिनियाँ सामग्रीबाट छुट्कारा पाउन उपाय अपनाउनुपर्ने बताएका छन्।