महिलाको पाशविक हत्या, कम्मरमाथि र घुँडामुनिको भाग अझै फेला परेन

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ०९


झापा । झापामा एक महिलाको पाशविक हत्या भएको छ।

झापा गाउँपालिका-१ घर भई भारत विवाह गरेकी ५५ वर्षीया डोलीना भनिने धोन्नी टुडुको धारिलो हत्यार प्रयोग गरेर टुक्राटुक्रा पारी खोलामा फालिएको अवस्थामा शव भेटिएको हो।

२४ भदौमा प्रहरीले नेपाल-भारत सीमा नजिकै सानोमाई खोलामा उनको कम्मरमुनि र घुँडामाथिको भाग मात्र फेला पारेको थियो।

प्रहरीले हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा उनको हत्या भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

उनको श्रीमानको पनि डोलीनाको हत्या भएको दिनभन्दा १५ दिनअघि मात्र मृत्यु भएको थियो।

घरमा सौता भएको र पारिवारिक किचलोका कारण नै हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले मृतका भाञ्जा भारत घर भएका २३ वर्षीय ऐतवार सोरेन, मृतकाको सौताका भाइ झापा-१ का ३७ वर्षीय लखन टुडु सतार, घटना थाहा पाएर पनि लुकाउन सहयोग गरेको अभियोगमा सोही ठाउँका ५६ वर्षीय सिरी साइला भनिने सोमाई हेमरम सतार र सोही ठाउँका २७ वर्षीय श्री हेमरम सतार रहेको उनले बताए। महिलाको कम्मरमाथि र घुँडामुनिको भाग अझै फेला परेको छैन ।

हत्याको मुख्य कारण पारिवारिक बेमेल नै रहेको प्रहरीले जनाएको छ । श्रीमानको मृत्युपछि उनलाई बोक्सी भएको र श्रीमानको त्यहीकारण मृत्यु भएको भन्दै मानसिक तनाव दिँदै आएका थिए । घरमा जग्गासम्बन्धि विवाद पनि रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्