विप्लव नेकपाको बैठक: फागुनमा महाधिवेसन, एमसीसी खारेज गरेरै छाड्ने

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ००


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिको ११ औँ पूर्ण बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ।

करिब ३ बर्षपछि बसेको सो बैठकले विभिन्न निर्णय गरेको नेकपाले जनाएको छ।

बैठकले आगामी फागुनमा पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

नेकपाको उक्त बैठकले आगामी फागुनमा जनयुद्ध दिवसको अवसर पारेर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।

यस्तै मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा विशाल जनसभा तथा जनप्रदर्शन गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै पार्टी निकट सबै जनवर्गीय सङ्गठन तथा मोर्चाहरूका राष्ट्रिय भेलारसम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ।

महाधिवेशनको तयारीका लागि पार्टीका आधारभूत तहदेखि जिल्लासम्म सबै तहका सम्मेलनहरू गर्ने बैठकको निर्णय छ।

केन्द्रीय समितिको बैठकले आफ्नो कार्यनीतिक नारा ‘जनमतसङ्ग्रहका पक्षमा माहोल सिर्जना गर्न सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध र एकताबद्ध गर्दै जनमतसङ्ग्रहका लागि अभियान सञ्चालन गर्ने’ राजनीतिक निर्णय गरेको छ।

यस्तै सर्वाधिक चर्चा र विवादमा रहेको राष्ट्रघाती एमसीसीविरोधी सबै शक्तिहरूसँग सहकार्य गर्दै नेपालबाट एमसीसी खारेज नहुँदासम्म एमसीसीविरोधीसँगको सहकार्यलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ।

 


प्रतिक्रिया दिनुहोस्