क्वाड बैठकको लागि मोदी अमेरिका जाँदै, चीन लगायत धेरै विषयमा चर्चा हुने

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : १०


चीनको बढ्दो आक्रामकताविरुद्ध बनेको ‘चतुर्भुज सुरक्षा संवाद–क्वार्डिलेटेरल सेक्युरिटी डायलग’ क्वाड समूहमा आवद्ध राष्ट्रहरुलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले यसैहप्ता राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा छलफलका लागि बोलाएका छन्।

रोयटर्सका अनुसार बाइडेनले क्वाडका नेताहरुका लागि व्यक्तिगत शिखर सम्मेलनको आयोजना गर्नेछन्। सम्मेलन सेप्टेम्बर २४ अर्थात शुक्रबार ह्वाइट हाउसमा आयोजना हुने ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले विज्ञप्ती जारी गर्दै जानकारी दिएकी छिन्।

बैठकका लागि जापानका प्रधानमन्त्री योसिहिदे सुगा, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका जाँदैछन्। भारतका प्रधानमन्त्री आज बुधबार अमेरिकाको तीनदिने भ्रमणमा निस्किने भारतको विदेशमन्त्रालयले जनाएको छ।

क्वाड बैठकमा भाग लिने मोदीले त्यसपछि शनिबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाको ७६ औं सत्रलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।

यसअघि गत मार्चमा क्वाडको पहिलो सम्मेलन भएको थियो। कोरोनाका कारण भएको अनलाईन बैठकमा क्वाडका नेताहरुले कोरोनाविरुद्ध एक भएर लड्ने, खोप सहयोगसँगै जलवायु परिवर्तनविरुद्ध मिलेर लड्ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनीहरुले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै सो क्षेत्रमा चीनको आक्रामकताविरुद्ध लड्ने वाचा गरेका थिए।

साकीले क्वाड बैठकबारे भनेकी छिन्,‘क्वाडका नेताहरुलाई अमेरिकामा बोलाएर छलफल गर्नुले २१ औं शताब्दीका चुनौतिहरुलाई सामना गर्न नयाँ बहुपक्षीय व्यवस्थासहित हिन्द–प्रशान्तमा संलग्न हुने बाइडेन–ह्यारिस प्रशासनको प्राथमिकता देखाउँछ।’

साकीले क्वाडका नेताहरुले छलफलका क्रममा सम्बन्धलाई थप मजबुत बनाउने, कोरोनाविरुद्ध लड्ने, जलवायु संकटको विषय सम्बोधन गर्ने तथा उदीयमान प्रविधि र साइबरस्पेसमा साझेदारी गर्ने विषयमा छलफल गर्ने जानकारी दिइन्। यस्तै उनले स्वतन्त्र र खुला हिन्द–प्रशान्त क्षेत्रलाई बढावा दिन व्यावहारिक सहयोगलाई अगाडि बढाउने विषयमा पनि छलफल केन्द्रित हुने बताइन्।

इन्डो–प्यासिफिक क्षेत्रको विषयमा छलफल गर्नुको अर्थ चीनविरुद्धको नीति यो बैठकले तय गर्ने अनुमान गरिएको छ। क्वाडको बैठकमा अफगानिस्तानको विषयमा पनि छलफल हुनेछ। २० वर्षपछि अमेरिकी सेनाहरु फर्किएपछि यतिबेला तालिबानले नयाँ शासन व्यवस्था लागू गरेको अवस्था छ।

चीनले क्वाड समूहलाई आफूलाई घेर्न बनाइएको समूहको रुपमा व्याख्या गर्दै आएको छ। इन्डो–प्यासिफिक क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा चीनले दाबी प्रस्तुत गर्ने गर्दछ।

चीनले त्यहाँ कृतिम टापु नै खडा गरेको छ। चीनसँगै दक्षिण चीन सागरलाई फिलिपिन्स, मलेसिया, भियतनामजस्ता राष्ट्रले पनि आफ्नो भएको बताउँछन्। जसका कारण यो जलक्षेत्र विवादमा छ।

पछिल्लो समय चीनले दाबी गर्ने यो सागमा भारत, अमेरिका, अस्ट्रेलिया, जापान, बेलायत, जर्मनीजस्ता देशका सैन्य जहाजहरु तैरिन गरेको छ। यी राष्ट्रले खुला र सुरक्षित इन्डो–प्यासिफिक क्षेत्रको वकालत गर्दै आएका छ।

चीनले विरोध गर्दा यी राष्ट्रले चिनियाँ दाबी गैरकानूनी भएको बताउँछन्। यसअघि सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक भनेको थियो। यी राष्ट्रहरुको जहाज आफूले दाबी गर्ने जलक्षेत्रमा देखेपछि चीनले आवश्यक प्रतिक्रिया दिने चेतावनी दिइरहेको छ। बीबीसीहिन्दी र रोयटर्सको सहयोगमा


प्रतिक्रिया दिनुहोस्