मन्त्री चयनमा पौडेलको आपत्ति, देउवाले बोलाए पदाधिकारी बैठक

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ४१


काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आव्हान गरेका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा एकलौटी निर्णय गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएपछि कांग्रेस सभापति देउवाले बुधबार तीन बजे पदाधिकारी बैठक बोलाएका हुन् । बैठक देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने प्रधानमन्त्री देउवाका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीले पार्टीभित्र सल्लाह नगरी एक्लै अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता पौडेलले संस्थापन इतर समूहको बैठक बोलाएका थिए । बैठकबाट सभापति र प्रधानमन्त्रीविरुद्ध उभिने संकेत पौडेलले गरेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुने बताइएको छ । मंगलबार ५ दलीय सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ ।

यसैगरी कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ । प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ ।


प्रतिक्रिया दिनुहोस्