साफ च्याम्पियनसिप अगाडी नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : २५


काठमाडौं । आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमले कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने बताएको छ ।

नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । दोहामा हुने खेल स्थानीय समयअनुसार रातको ७ बजे हुनेछ । साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा रहेको छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपाली टिम कतारबाट साफका लागि २७ सेप्टेम्बरमा माल्दिभ्स जानेछ । आगामी १ देखि १६ अक्टोबरसम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल श्रीलंकासँग १८ असोजमा खेल्नेछ । नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग र २७ असोजमा बंगलादेशसँग खेल्नेछ । तालिकाका शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्