गुल्मी । अविरल वर्षासँगै मंगलबार राति गएको पहिरोमा पुरिएर गुल्मीमा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
रेसुंगा नगरपालिका वडा नम्बर ८ थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिँदा १ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको छ । तिलककी तीन छोरीको मृत्यु भएको हो ।
घर माथिबाट ढुंगासहित खसेको पहिरोले घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो । गए राति करिब १ बजेतिर पहिरो खसेको थियो । पहिरोमा पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ। पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ। प्रहरीका अनुसार घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेका छन् ।