अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भोलिबाट, १० हजार जनाको र्यालीको नेतृत्व विप्लवले गर्ने

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : १४


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व्को नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनको भोलिबाट पोखरामा सुरु हुने भएको छ।

अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनका लागि तयारी पूरा भएको अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिए।

अध्यक्ष ढकालले आज पोखरास्थित नेपाल पत्रकार महासङ्घ कास्कीको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी भोलि ६ गते बुधबारदेखि सुरु हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन।

पत्रकार सम्मेलनमा आफ्नो सङ्गठनको सम्मेलनको तयारीबारे जानकारी दिँदै सम्मेलन आयोजक समितिका संयोजक ढकालले बुधबार ११ बजे पृथ्वीचोकबाट सुरु हुने दस हजार जना सहित निस्किने र्यालीको नेतृत्व पार्टी महासचिव विप्लवले गर्ने जानकारी दिए।

उक्त र्याली सुन्दर पर्यटकीय नगरी पोखराको परिक्रमा गरी १२ बजे चिप्लेढुङ्गास्थित मानवअधिकार चोक पुगेर सम्मेलन उद्घाटन समारोहमा परिणत हुने र पार्टी महासचिवले सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथिका रूपमा नेपालका बिग्रिँदो राजनीतिक अवस्था, वैज्ञानिक समाजवादले दिने यसको निकास र दलाल संसदीय व्यवस्थामा रहेको शैक्षिक विकृतिको अन्त्यका बारेमा महत्वपूर्ण सम्बोधन गर्ने जानकारी पनि उनले दिए।

तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा असोज ७ र ८ गते बन्दसत्र हुने र वैज्ञानिक समाजवादी शिक्षा नीति तय गर्दै नयाँ नेतृत्व चयन गर्ने जानकारी पनि ढकालले दिए।


प्रतिक्रिया दिनुहोस्