लघुवित्तबाट ६० हजार ऋण लिएर श्रीमान मार्न योजना बनाउने श्रीमती, प्रेमीलाई सुपारी

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ४४


सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीया दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन्।

भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको शव फेला परेको थियो।

उनको हत्याको योजनाकारको रूपमा हरिहरदेवी पक्राउ परेकी हुन्। श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार श्रीमानको हत्याका लागि हरहरदेवीले मुकेश यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन्।

गत १९ भदौमा दुखरणको शव फेला परेको थियो।

धारिलो हतियारको प्रयोग गरेर दुखरणको हत्या भएको थियो। उनको शव घाँटीसहित शरीरका विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो।

दुखरन महरा मोची १० वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

कतारबाट फर्केपछि गोलबजारस्थित घरमा फर्निचर र किराना पसल खोलेर उनले जीवन चलाइरहेका थिए। पति–पत्नीसँगै उनीहरुका चार सन्तान छन्।

विदेशबाट पठाएको हरहिसाबबारे उनीहरुबीच बेलाबखत झगडा भइरहन्थ्यो।

रीसको झोंकमा दुखरनले किराना पसलका समान फालिदिन्थे। एकचोटि उनले पसलमा आगो लगाउन खोजेपछि हरिहरदेवीले आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । तर, बच्चाको भविश्य सम्झेर सम्हालिइन् । प्रहरीका अनुसार यही घरायसी विवादकै क्रममा उनले पतिलाई मार्ने योजना बनाइन्।

दुई वर्षअघि हरिहरदेवी पाठेघरको अप्रेशन गर्न भारतको जयनगरस्थित अस्पतालमा गएकी थिइन् । त्यहीबेला एम्बुलेन्स चालक मुकेश यादवसँग उनको चिनजान भयो । भारतीय नागरिकसँगको सो चिनजान बिस्तारै ‘प्रेम’मा परिणत भयो ।
प्रहरीको भनाइ अनुसार भदौको दोस्रो साता हरिहरदेवीले मुकेशलाई फोन गरेर भनिन्, श्रीमानले धेरै दुःख दियो, उसलाई मार्नुपर्ने भयो।

प्रेमीले हत्याका लागि १ लाख भारतीय रुपैयाँ लाग्ने प्रस्ताव गरे । योजना सफल बनाउन ४० देखि ५० हजार रुपैयाँसम्म खर्च गर्न हरिहरदेवी सहमत भइन् । र, उनले पतिसँग सल्लाह गरिन्, घर खर्चको अभाव भयो, ऋण निकालौं।

श्रीमानसँग सल्लाह गरेर उनी भदौ १७ मा गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकाल्न सफल भइन् । त्यसलगत्तै उनले भनिन्, मलाई सञ्चो भएन, जयनगर गएर उपचार गरौं।

श्रीमानलाई फकाएर भारत लिएर हिँडेकी हरिहरदेवीले सिराहाको माडरमा पुगेपछि प्रेमीलाई सुटुक्क फोन गरिन्, ‘हामी भारत आउँदैछौं, आवश्यक रकम पतिको खल्तीमा छ।’

भदौ १७ मा साँझ ६ बजे उनीहरु जयनगर रेलवे स्टेशनमा पुगे । चिया पसलमा प्रेमी मुकेश यादव (२६ वर्ष) आए । सँगै बसेर चिया खाएपछि दुखरनलाई ‘नास्ता गर्न जाउँ’ भनेर मुकेशले बुलेट मोटरसाइकलमा चढाएर लगे । मुकेश मधुवनी जिल्लाका स्थानीय हुन् ।


प्रतिक्रिया दिनुहोस्