चिनियाँ सेनाले रुसबाट आक्रामक र शक्तिशाली मानिएको ‘का–५२के हेभी अट्याक हेलिकप्टर’ खरिद गर्ने भएको छ। ‘ब्ल्याक सार्क’ भनेर चिनिने यो हेलिकप्टरले चिनियाँ सेनाको हवाई क्षमतालाई थप बलियो बनाउनेछ।
एससीएमपीका अनुसार चीनले ३६ वटा रुसी हेलिकप्टर खरिद गर्न लागेको हो। समुद्रमा नौसेनालाई यो हेलिकप्टरले सघाउनेछ। सैन्य विज्ञहरुका अनुसार रुसबाट चीनले हतियार खरिद गर्नुले उनीहरुको रक्षा साझेदारी झल्काउँछ।
रुसी समाचार संस्था आभिया डटप्रोले पनि चिनियाँ जनमुक्ति सेना रुसको हेलिकप्टर खरिद गर्नका लागि इच्छुक भएको जनाएको छ। आभियाले आफ्नो समाचारमा भनेको छ,‘मस्को र बेइजिङबीच चिनियाँ नौसेनालाई ३६ वटा का–५२के हेलिकप्टर आपूर्ति गर्ने सम्झौता हुनेछ।’
अमेरिकाबाट दबाब झेलिरहेको समयमा उनीहरुबीच सैन्य हतियार सम्बन्धी सम्झौता भएको हो। चीन आफैं पनि हतियार सम्पन्न र प्रविधिक रुपमा विकसित राष्ट्र हो। तर उसले अझैं रुसलेजस्तो शक्तिशाली हतियार बनाउन सकेको छैन।
वास्तवमा यतिबेला चीनलाई हिन्द–प्रशान्त क्षेत्रमा घेर्न अमेरिकाले विभिन्न समूहहरु बनाएको छ। अमेरिका, अस्ट्रेलिया, जापान र भारत आवद्ध क्वाड तथा अमेरिका, बेलायत र अस्ट्रेलिया आवद्ध अकस समूहले हिन्द प्रशान्त क्षेत्रमा चीनविरुद्ध एक भएर उभिने वाचा गरेका छन्।
हिन्द–प्रशान्त क्षेत्रमा पर्ने दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा आफ्नो अधिकार भएको चीनले बताउँदै आएको छ। तर क्वाड र अकस समूहले चिनियाँ दाबी अस्वीकार गर्दै उसले दाबी गर्ने जलक्षेत्रमा आफ्नो सेना र जहाजहरु दोहोर्याउँदै पठाइरहेको अवस्था छ।
अमेरिका र उसका सहयोगीले समुद्री क्षेत्रमा चुनौती दिइरहँदा चीनले रुसबाट शक्तिशाली हतियार खरिद गर्न लागेको हो।