केपी ओलीको मुद्दामा सक्कल निर्णय झिकाउन सर्वोच्चको आदेश

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ३ : ४२


काठमाडौं । माधव नेपालसहित १४ सांसद र लुम्बिनी प्रदेशसभाका दुई सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले विपक्षीबाट सक्कल फाइल झिकाउने आदेश गरेको छ।

ओलीले विपक्षी बनाएका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग न्यायाधीशद्वय दीपककुमार कार्की र चुमार चुडालको संयुक्त इजलासले सक्कल फाइल मागेको हो।

निर्वाचन आयोगले ९ भदौमा एमालेले कारवाही गरेका नेपालसहित १४ सांसदको सनाखत गरेको निर्णयको सक्कल सर्वोच्चले फाइल मागेको छ। त्यसैगरी सभामुख सापकोटाले १३ भदौमा एमालेले कारवाही गरेका सांसदको पदमुक्तको सूचना टाँस्न नपर्ने निर्णयको फाइल पनि मागेको छ।

त्यसैगरी लुम्बिनी प्रदेश सभामुख घर्तीको निर्णय र प्रदेशसभा सचिवालयबाट ४ भदौमा भएको पत्राचारको सक्कल फाइल झिकाउन आदेश गरेको हो।

ओलीको मुद्दामा सोमबार र आज मंगलबार दुइतर्फी बहस भएको थियो। बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनेरनदिने निर्णय लिन सक्कल फाइल मगाएको हो।


प्रतिक्रिया दिनुहोस्