अर्थमन्त्री शर्माको प्रश्न: मैले बोल्दैमा सेयर बजार घट्ने हो र?

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : २३


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिले आफूमाथि सेयर बजार घटाएको आरोप लागेको बताएका छन।

दुई दिन अघि एक कार्यक्रममा अर्थमन्त्री शर्माले सेयरबजारबारे बोलेको कुराप्रति लगानीकर्ताले आक्रोश पोखेका थिए। मन्त्री शमाले शेयर बजारलाई ‘हावाले भरिएको बेलुन’भन्दै दिएको अभिव्यक्तिपछि सोमबार सेयर बजारमा ठूलो गिरावट आयो।

आफूमाथि आरोप लागेको भन्दै मन्त्री शर्माले भने ‘मैले यसअघि चार्टर्ड एकाउण्टेडहरुको कार्यक्रममा सेयर बजारको बारेमा थोरै बोलेको थिएँ, मैले बोलेकै कारण सेयर बजार घटेको ममाथि आरोप लाग्यो, के मन्त्री बोल्ने बित्तिकै सेयर बजार घट्ने हो र? उनले उपस्थितहरुसँग प्रश्न गरे’

सेयर बजारभित्र क-कसले के गरिरहेको छ भन्ने विषयमा अध्ययन नगरी अर्थात थाहै नपाई कसैमाथि आरोप लगाउन नहुने उनको भनाई छ।

मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको ‘सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा समस्या रहेको पनि बताए।

उनले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पुँजिगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको बताए।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले सबै अधिकार आफैसँग राख्नाले पनि समस्या भएको भन्दै अर्थमन्त्रालयले अन्य मन्त्रालयहरुलाई र मन्त्रालयहरुले सम्बन्धित परियोजनालाई आवश्यकता अनुसार बजेट हेरफेर गर्न दिनुपर्ने बताए।

आगामी दिनमा अर्थ मन्त्रालयले सो अधिकार अन्य मन्त्रालयलाई दिने पनि उनले उल्लेख गरे।

उनले भने– ‘कसरी हामीले चालु खर्च घटाउने र पुँजिगत बजेट बढाउने भन्ने एउटा चुनौती त छदैछ। फेरी पुँजिगत बजेटको खर्च कसरी गर्ने भन्ने अर्को चुनौती पनि सँगसँगै आएको छ। पूर्वतयारीका समस्याहरु छन्, समग्र विकास रणनीतिको समस्या हो । समग्र विकास रणनीति नै हाम्रो स्पष्ट छैन। सरकार बदलिदा, मन्त्री बदलिदा रणनीति नै बदलिन्छ । योजना नै बदलिन्छ । त्यसकारणले समस्या यहाँनिर हो। नेतामुखि, मन्त्रीमुखि योजना हुन्छ अनि कसरी त्यसले समयमा लक्ष्य प्राप्त गर्छ भन्ने समस्या छ। मन्त्रालयलाई अर्थ मन्त्रालयले दिनुपर्ने अधिकार त्यो पनि कञ्जुस्याँई, मन्त्रालयले प्रोजेक्ट प्रमुखलाई दिने अधिकार त्यो पनि कञ्ज्युस्याँई। उसले फिल्मै बसेर त्यही तलमाथि गर्न पाओस् न, योजना सफल गर्नको लागि। तत्ः तत्ः ठाउँमा अधिकार दिने। प्रोजेक्ट प्रमुख छ भने उसलाई अधिकार दिएर पठाउने। राम्रो, नराम्रोको मुल्यांकन गर्ने। पुरस्कृत र कारबाही गर्ने कुराको मुल्यांकन गर्ने परिपाटी नहुनुको पनि परीणाम हो। अर्थ मन्त्रालयले आफुले सबै अधिकार मुठ्याएर राख्ने तल नदिने गर्दापनि समस्या हो। मन्त्रालयलाई अधिकार दिने। मैले भनेको छु, अधिकार दिनुस्। अब हामी दिन्छौँ । मन्त्रालयलाई हेरफेर गर्न पाउने। बजेट खर्च नभए अर्को ठाउँमा हाल्न पाउने अधिकार तल दिनुपर्यो। माथि राखेर नहुने रहेछ।’


प्रतिक्रिया दिनुहोस्