अमेरिकामा सन् १९१८ को स्पेनिस फ्लुले भन्दा बढी ज्यान लियो कोरोनाले!

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : ०१


अमेरिका कोरोना भाइरसले विश्वमा सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो। कोरोनाको तथ्यांक राख्दै आएको वर्ल्डोमिटरको तथ्यांक अनुसार मंगलबारसम्म अमेरिकामा ४ करोड ३१ लाख ७ हजारमा कोरोना पुष्टि भइसकेको छ।

सोही अवधिमा कोरोनाका कारण अमेरिकामा ६ लाख ९४ हजार ६१९ को मृत्यु भइसकेको छ। ३ करोड २६ लाख ७५ हजार कोरोनामुक्त भइसकेका छन् भने हाल त्यहाँ सक्रिय संक्रमित ९७ लाख ३७ हजार छन्।

मृतकको संख्यालाई मात्र हेर्ने होभने अमेरिकाको हालको मृतक संख्या सन् १९१८ को स्पेनिस फ्लुभन्दा ज्यादा हो। अर्थात् १०३ वर्ष अगाडिको फ्लु महामारीभन्दा कोरोनाले अमेरिकामा बढी मानिसको ज्यान लिएको छ।

त्यसबेला ६ लाख ७५ हजारको मृत्यु भएको थियो भने अहिले झन्डै ७ लाखले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

विज्ञका अनुसार फ्लु महामारीका बेला अमेरिकाको जनसंख्या १ करोड ३२ लाख थियो र त्यसबेला खोपको अभावका कारण पनि धेरैले ज्यान गुमाए। अहिले अमेरिकाको जनसंख्या ३३ करोड ३३ लाख ६३ हजार हो, खोपको अभाव पनि छैन।

संख्याको हिसाबमा कोरोनाले फ्लुलेभन्दा बढीको ज्यान लिएता पनि जनसंख्याको अनुपातमा सन् १९१८ मै अमेरिकामा बढीको ज्यान गएको हो।

कोरोना भाइरस विश्वभर अझै नियन्त्रणमा आउन सकेको छैन। अमेरिकामा संक्रमित हुने र मृत्युको घटना अझै दैनिक बढिरहेको छ। तर गतवर्ष भन्दा यी दुवै दर घटेको अवस्था छ। सीएनएन


प्रतिक्रिया दिनुहोस्