नेकपा (एस) २६ दिनसम्म चुनाव चिन्ह विहीन, कलम छापमा माधव नेपालको जोड

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : ४६


काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दर्ता भएको २७औं दिनसम्म पनि चुनाव चिन्ह विहीन अवस्थामा छ । चुनाव चिन्ह बिना नै ९ भदौमा दर्ता भएको नेकपा (एस)ले कलम छापलाई चुनाव चिन्हको रुपमा चयन गरेर जाने सम्भावना रहेको बुझिएको छ ।

पाटी अध्यक्ष नेपालले चुनाव चिन्हको रुपमा कलम नै उपयुक्त हुने धारणा राख्दै आएकाले आजबाट सुरु हुने पहिलो केन्द्रीय कमिटी बैठकले सो बारेमा निर्णय लिन सक्नेछ ।

‘राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाजीले कलम चिन्हवाट नै लडेर विजय हुनु भएको छ, स्वतन्त्र भने पनि उहाँलाई हाम्रो समर्थन थियो,’ नेपालले भन्दै आएका छन, ‘राष्ट्रियसभाबाट स्थापित भइसकेको कलम चिन्हलाई नै पार्टीको चुनाव चिन्ह बनाउँदा ठिक हुन सक्छ, त्यसबारेमा छलफल गर्नुपर्छ ।’

आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय कमिटीले चुनाव चिन्ह, सांगठनिक संरचना र भावी कार्यदिशा र रणनीतिक योजनासहित राजनीतिक प्रतिवेदनलगायतका विषयमा छलफल सुरु गर्दैछ ।

 


प्रतिक्रिया दिनुहोस्