इन्द्रजात्राको रथयात्रा घुमाइयो माथिल्लो टोलमा

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १० : ०३


काठमाडौं । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा आज माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको छ।

इन्द्रजात्राको मुख्य दिन आइतबार तल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा भएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

असोज ८ गते शुक्रबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइनेछ।

यसै दिन बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन।

टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ।

असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वजपातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ।

इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ। लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ।

वनयात्रा, रूख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ।

इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आइतबार विधिपूर्वक पूजा आजा पनि गरिएको थियो।

जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ। रासस


प्रतिक्रिया दिनुहोस्