मेयर बिरामी भएपछि ३ महिनादेखि थलियो पोखरा

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : २९


पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ।

गत १० असारमा पोखराले चालू वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्यायो। तर, हालसम्म त्यो प्रमाणीकरण भएको छैन। गत १ साउनमा मेयर मानबहादुर जिसीलाई मष्तिष्कघात भएपछि उनी काठमाडौंमा उपचाररत् छन्।

जिसी बिरामी भएपछि पोखराको आर्थिक तथा विकासका सबै गतिविधि ठप्प भएका छन्। मेयरको अनुपस्थितिमा उपमेयरले काम गर्नुपर्ने कानुनी व्यवस्था छ। तीन महिनासम्म उपमेयरले कार्यबाहक जिम्मेवारी पाएकी छैनन्। यसले गर्दा कार्यपालिका बैठकसमेत बस्न सकेको छैन।

अहिले पोखराका जनप्रतिनिधिहरूले नै विरोध गर्न थालेका छन्। पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ ९दर्शन लामा०ले मेयरको पारिवारिक अड्चनका कारण कार्यबाहकको जिम्मेवारी नदिएको आरोप लगाए।

‘मेयरसाप बिरामी हुनुहुन्छ। उहाँलाई केही भन्ने ठाउँ छैन। तर, उहाँको छोरीज्वाइँलगायतले कार्यबाहक दिन मानेका छैनन्। अहिले पोखराको सबै गतिविधि रोकिएको छ’, उनले भने।

कार्यकारी निर्णय गर्न नपाएका कारण राजश्व गुम्ने खतरा बढेको उनले बताए।

‘रामघाटबाट वर्षेनी आठ करोडभन्दा बढी आम्दानी हुन्छ। तर, अहिले टेण्डर आह्वान पनि भएको छैन,’ लामाले भने, ‘कसको नियतका कारण यस्तो भइरहेको छ? उपमेयरलाई कार्यबाहक नदिँदा पोखरामा ठूलो संकट निम्तिएको छ।’

जिसी उपचारबाट फर्किए पनि अवस्था सामान्य नहुने चिकित्सकहरूले बताएका छन्। अहिले महानगरमा राजश्व संकलन बाहेकका अन्य सबै काम रोकिएका छन्। कर्मचारीले तलब पाएका छैनन्। काम सकेका उपभोक्ताले भुक्तानी पाएका छैनन्। विभिन्न ठेक्को म्याद सकिएको छ। तर, नवीकरण हुन सकेको छैन। बाढीपीडितहरूलाई राहत र उद्धारमा समेत समस्या परेको वडाध्यक्षहरू बताउँछन्।

‘बाढीपहिरोले जनधनको क्षति भयो। हामीले आश्वासन दिएर आयौं। महानगरले तत्काल राहत र उद्धार गर्नुपथ्र्यो, तर गरेन,’ लामा भन्छन्, ‘हामीले आश्वासन दिएर आएका छौं। त्यसको निर्णय गर्ने अधिकार कार्यपालिकालाई छ। यो बैठक नै बस्न सकेन।’

कांग्रेसलाई अहिले महाधिवेसन लागेको छ। वडाध्यक्ष र सदस्यहरूले महानगरको दैनिक कामकाजमा ध्यान दिएका छैनन्। दलका सचेतक रामराज लामिछाने आफू चुनावमा व्यस्त भएकोले महानगरको काममा ध्यान नदिएको बताए।

‘म नगरसभापतिको उम्मेदवार हुँ। पार्टीको चुनाव लागिरहेको छ। वडामा कार्यबाहक दिएको छ। महानगरमा के भइरहेको छ, मलाई थाहा छैन,’ उनले भने, ‘चुनाव नसकिँदासम्म म केही बोल्दिनँ । चुनाव सकिएपछि खोजौंला।’

उपमेयर मञ्जुदेवी गुरुङले मेयरको शल्यक्रिया सकिने बित्तिकै थप छलफल गर्ने बताइन्।

‘उहाँ शल्यक्रियामा हुनुहुन्छ। एक दुई पटक कुरा राखेको हो,’ उनले भनिन्, ‘अहिलेसम्म खासै धेरै बिग्रिएको त केही छैन। तर महत्वपूर्ण निर्णयहरू गर्न सकिएको छैन। अड्चन आइरहेको छ।’

पोखरामा मेयर उपमेयरसहित २२ वडाध्यक्ष एमालेबाट निर्वाचित भएका हुन् भने ११ वटा वडाध्यक्ष कांग्रेसतर्फबाट निर्वाचित छन्। मेयर जिसीको सोमबार (आज) अन्तिम शल्यक्रिया हुँदैछ।


प्रतिक्रिया दिनुहोस्