‘फर्नेश आयल’मा देश आत्मनिर्भर बन्न सक्ने, थोत्रा टायरको तस्करीले थप्यो चुनौती

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ५७


तिलोत्तमा । उद्योगी अजयमान श्रेष्ठले थोत्रा टायर तथा ट्युब प्रशोधन गरी फर्नेश आयल उत्पादन गर्ने उद्योग स्थापनाको सोच बनाउँदा डा. रामशरण महत अर्थमन्त्री थिए । त्यसयताको ६ वर्षमा पाँचपटक सरकार परिवर्तन भए । विभिन्न अर्थमन्त्री र उद्योगमन्त्रीसँग श्रेष्ठले कैयौंपटक भेटिसके । अर्थसचिव र राजस्व सचिवसँग भेटेर पनि उनले आफ्नो सोच र त्यसले देशलाई पु¥याउने फाइदाबारे बताइसके ।

निवर्तमान अर्थमन्त्री विष्णु पौडेल, तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मी, अर्थसचिव शिशिर ढुंगाना र राजस्व सचिव लालशंकर घिमिरेलाई उनले पटकपटक भेटे ।

मन्त्री तथा सचिवहरू उद्योगी श्रेष्ठको योजना सुनेर छक्क पर्थे । सबैजसोले उनलाई अघि बढ्न र त्यसमा सरकारले सघाउन पूरै तयार रहेको वाचा गरे । श्रेष्ठ तिनका कुरा पत्याउँथे र केही त होला भन्ने आशा बोकेर फर्किन्थे । तर उनको आशा निराशामा बदलिन्थ्यो ।

स्वदेशी उद्योगबाट उत्पादित तेलले आयातित तेलसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै उद्योगी श्रेष्ठले राज्यले स्वदेशी उद्योगको संरक्षणको नीति ल्याउनुपर्ने माग गरेका थिए । सरकारले आयातित डिजल, पेट्रोल, मट्टीतेलजस्ता पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँका दरले प्रदूषण शुल्क लगाएको, तर आयातित फर्नेश आयलमा नलगाउँदासम्म स्वदेशी उद्योगबाट उत्पादित तेलले आयातित तेलसँग प्रतिस्पर्धा गर्न असमर्थ रहेको उनको भनाइ छ ।

उद्योगी श्रेष्ठले वातावरण संरक्षणमा योगदान दिने, असंगठित क्षेत्रबाट संकलित फोहोरमैलाजन्य रवर, टायर ट्युब जस्ता कच्चा पदार्थको प्रशोधनबाट उत्पादित पायरोलाइसिस फर्नेश आयलमा लाग्ने मूल्य अभिवृद्धि कर फिर्ता वा अनुदानको व्यवस्था हुनुपर्ने माग सरकारसँग पटकपटक गरेका थिए । त्यस्तै, वैकल्पिक ऊर्जा सम्बद्ध पायरोलाइसिस फर्नेश आयल प्रशोधनमा प्रयोग हुने नवीन प्रविधि, अनुसन्धान तथा थप मेसिन, प्लान्ट, औजार आयातमा छुट वा अनुदान सुविधा हुनुपर्ने माग श्रेष्ठले गरेका थिए ।

पायरोलाईसिस फर्नेश आयल उत्पादन गर्ने कम्पनीको औद्योगिक कच्चा पदार्थको लागि आवश्यक पुरानो टायर ट्युब आयातमा उद्योगको मागको आधारमा पूर्ण छूट सुविधामा तोकिएको परिमाणमा अपुग कच्चा पदार्थ आयात गर्न दिने गरी भन्सार दरबन्दीमा व्यवस्था गरिनुपर्ने श्रेष्ठको अर्को माग थियो । तर उनले माग पूरा हुने आश्वासन त पाए, तर पूरा भएन । पूर्ण छुट सुविधामा भन्सार दरबन्दीमा व्यवस्था गरिनुपर्ने माग रहेकामा २० बाट १० प्रतिशत भन्सार दर कायम गरिएको छ ।

तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले स्वदेशी वस्तुहरूको खपत पूरा भएपछि नपुग वस्तु आयात गर्ने नीति लिएका थिए । तर बजेटमा व्यवस्था भए पनि त्यो लागू भएन । विगत तीन वर्षमा फर्नेश आयल मात्रै करिब पाँच अर्बका दरले आयात भएको छ भने अहिले यसको आयात वार्षिक झन्डै १० अर्ब पुगेको छ । आयातित फर्नेश आयलसँग स्वदेशमा उत्पादित तेलले प्रतिस्पर्धा गर्ने गरी राज्यले संरक्षणको नीति लिए मात्रै व्यापार घाटा कम हुने र स्वदेशी उद्योग फस्टाउने उद्योगी श्रेष्ठको भनाइ छ ।

‘भारत, चीन जस्ता मुलुकले आन्तरिक उद्योगको संरक्षणलाई जोड दिएर उत्पादन गरिरहेका छन्, नेपालले पनि यसबाट पाठ सिकेर आन्तरिक सुरक्षातर्फ जोड दिनुपर्छ,’ उनले भने, ‘यो मेरा निम्ति गर्न लागेको काम हैन, सोच मात्रै मेरो हो । खेर गएका टायरलाई प्रशोधन गरेर तेल उत्पादन गरी देशकै कायापलट गर्ने योजना हो ।’

रूपन्देहीको देवदह–४ मा रहेको ‘स्पिड इनर्जी इन्डस्ट्रिज’ पाँच करोड लगानीमा २०७१ सालमा स्थापना भएको हो । यो उद्योगले दुईपांग्रे र चारपांग्रे सवारीसाधनका टायर, ट्युब तथा रबर प्रशोधन गरी फर्नेश तेल, कार्बन ब्ल्याक र स्टिल स्क्र्याब उत्पादन गर्दै आएको छ । दुईवटा प्लान्ट सञ्चालनमा ल्याएको उद्योगको लगानी अहिले १६ करोड पुगेको छ ।

साढे दुई बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगबाट उत्पादन हुने फर्नेश तेल र स्टिल स्क्र्याब नेपालकै सिमेन्ट, छड, बिस्कुट, ब्याट्री आदि उद्योगमा खपत भइरहेको छ । कार्बन धूलो इँटा उद्योगहरूमा कोइलाको विकल्पमा प्रयोग हुने गरेको छ । कार्बनलाई भारतमा समेत निर्यात गर्दै आएको उद्योगले जनाएको छ ।

सहर बजारमा फालिएका थोत्रा टायर ट्युबको व्यवस्थापन चानेचुने थिएन । सडक किनारमा साइकलको पन्चर बनाउनेहरूसँग बिना बिल टायर ट्युब संकलन गर्नुपर्ने बाध्यता उनलाई अहिले पनि छ । यसबाट श्रेष्ठले खेर गएका टायर ट्युबलाई राजस्वको दायरामा ल्याएका छन् भने अर्कोतर्फ बिना बिल खरिद गरिएका त्यस्ता वस्तुबाट उत्पादन हुने तेल ठूलो रकम राजस्व तिरेर बिक्री गरिरहेका छन् ।

उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहे पनि अहिले भने चार हजार लिटरको हाराहारीमा मात्रै उत्पादन भइरहेको उद्योगी श्रेष्ठले बताए ।
फालिएका थोत्रा टायर तथा ट्युबको भारततर्फ तस्करी अर्को समस्या बनेको छ । यसले फर्नेश आयल उत्पादन गर्ने उद्योगमा कच्चा पदार्थको अभाव भएको छ ।

रूपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्णरूपमा बन्द भएको छ । जिल्लाको सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग गत फागुनदेखि बन्द छ । यस्ता उद्योग धनगढी, विराटनगर र वीरगन्जमा एक–एकवटा छन् । नेपालमा खपत हुने फर्नेश आयलमध्ये स्वदेशी उद्योगको उत्पादन तीन प्रतिशत मात्र छ ।

‘उद्योगले चाहेअनुसारको कच्चा पदार्थ पाए यहींबाट वार्षिक २५ लाख लिटर इन्धन उत्पादन गर्छौं,’ श्रेष्ठले भने । एकातिर आयात भएका फर्नेश आयलसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था र अर्कोतिर कच्चा पदार्थको अभावले उद्योग सञ्चालनमा निकै कठिनाइ झेल्नुपरेको उनले बताए ।\

लक्ष्मण पौडेल/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्