अमेरिका र चीनको सम्बन्ध नसुध्रिए अर्को ‘शीतयुद्ध’ निम्तिनेछः राष्ट्रसंघ

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : ४९


अमेरिका र चीनको सम्बन्धमा सुधार नआए विश्वमा फेरि अर्को शीतयुद्ध सुरुवात हुने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले एसोसिएटेडप्रेस एपीसँगको कुराकानीमा यस्तो बताएका हुन्।

अन्तर्वार्तामा गुटेर्रेसले अमेरिका र चीनबीको अस्त–व्यस्त सम्बन्ध सुधार हुनुपर्ने र त्यसो हुन नसकेमा गम्भीर अवस्था निम्तिने बताए। विश्वका बाँकी राष्ट्रहरुले चीन र अमेरिकाबीच जारी टकराब रोक्न भूमिका खेल्नुपर्ने गुटेर्रेसको भनाइ छ।

यसैहप्ता विश्वभरका नेताहरुले राष्ट्रसंघको वार्षिक सभामा कोरोना भाइरस, जलवायु समस्या लगायत विभिन्न वैश्विक समस्याको बारेमा छलफल गर्दैछन्। सो छलफलमा जलवायु परिवर्तन, मानव अधिकार, अर्थव्यवस्था, साइबर सुरक्षासँगै चीन र अमेरिकाको टकराबको विषयमा पनि छलफल हुनुपर्ने उनको धारणा छ।

उनी भन्छन्,‘हामीले दुवै शक्ति राष्ट्रको सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत गर्नुपर्छ। कोरोना खोप कार्यक्रम, जलवायु परिवर्तनको समस्या साथै अन्य वैश्विक चुनौती समाधान गर्न यो जरुरी छ।’

Antonio Guterres appointed as new UN secretary-general | News |  Eco-Business | Asia Pacific

एन्टोनियो गुटेर्रेस

अमेरिका र चीनबीच लामो समययता विभिन्न विषयमा टकराब छ। झन् पछिल्लो समय अमेरिकाले चीन घेर्न समूहहरु बनाएको छ। एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न र चीनको बढ्दो शक्तिलाई रोक्न अमेरिकाले क्वाड समूह निर्माण गर्नुका साथै अकस सम्झौता गरेको छ।

क्वाडमा अमेरिकासहित भारत, अस्ट्रेलिया र जापान सहभागी छन्। यसैहप्ता क्वाडको वैठक ह्वाइट हाउसमा हुँदैछ। यी राष्ट्रहरुले इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध एक हुने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै अकस सम्झौतामा अमेरिका, अस्ट्रेलिया र बेलायत समावेश छ। यसले पनि चीन घेर्ने रणनीति लिएको छ।

यस्ता भूराजनीतिक विषयसँगै, मानवअधिकार, प्रविधि, व्यापारको क्षेत्रमा पनि चीन र अमेरिकाबीच तिक्ततापूर्ण सम्बन्ध छ। बीबीसी र एपीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्