डुटेर्तेको शासनलाई चुनौती दिँदै बक्सर प्याकियो, फिलिपिन्सको राष्ट्रपतिमा लड्दै

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : २९


बक्सिङ खेलका महान खेलाडी म्यानी प्याकियो एक कुशल राजनीतिज्ञ पनि हुन्। ४२ वर्षका उनले फिलिपिन्समा सिनेटरको भूमिका निर्वाह गरिसकेका छन्। यतिबेला उनले आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुने पनि घोषणा गरेका छन्।

पीडीपी–लबान पार्टीले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रताव गरेको थियो। सो प्रस्ताव प्याकियोले स्वीकार गरेका हुन्। फिलिपिन्सका नागरिकले सरकारमा परिवर्तन चाहेको बताउँदै प्याकियो भन्छन्,‘म एक फाइटर हुँ, म रिङ भित्र र रिङ बाहिर पनि लडाकु नै हुनेछु।’

‘यतिबेला इमानदारिता, प्रेम र पारदर्शिताका साथ जनताको सेवा गर्ने सरकारको आवश्यकता छ’ उनले भनेका छन्।

उता फिलिपिन्सका वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्तेले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिने निश्चित भइसकेको छ। फिलिपिन्सको संविधानले राष्ट्रपतिलाई दोस्रो कार्यकाल काम गर्न अनुमति दिँदैन। त्यसकारण आगामी निर्वाचनमा डुटेर्ते उपराष्ट्रपतिमा उठ्न राजी भएका हुन्।

तर शक्तिमा बसिरहने उद्देश्यसहित उपराष्ट्रपति पदमा चुनावमा उठ्न खोजेको आरोप विपक्षीहरूले लगाएका छन्। डुटेर्तेले भने आफू देशको मायाबाट प्रेरित भएको दाबी गरेका छन्।

बीबीसी संवाददाता सेलिया ह्याटनका अनुसार उपराष्ट्रपति बनेर आफूले नै सत्ता चलाउन डुटेर्तेले राष्ट्रपति पदका लागि कमजोर पात्र खोजेको कतिपयको आशङ्का छ। डुटेर्तेले उनी निकट सिनेटर क्रिस्टोफर बोङु गोलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन आग्रह गरेका छन्।

डुटेर्ते सन् २०१६ मा निर्वाचन जितेर राष्ट्रपति बनेका थिए। उनले अपराध घटाउने र लागुऔषधको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। तर आलोचकहरूले डुटेर्तेले सन्दिग्ध मानिसको गैरन्यायिक हत्या गर्न प्रहरीलाई प्रोत्साहन गरेको बताउने गरेका छन्।

उनको कार्यकालमा देशमा लागुऔषध तस्करविरद्ध प्रहरी अभियान चलेको थियो। यस क्रममा प्रहरीले निर्दोष नागरिकहरुको गोली हानी हत्या गरेको विभिन्न प्रतिवेदन सार्वजनिक गरेका छन्। डुटेर्तेले प्रहरीलाई गोली चलाउन आदेश नै दिएका थिए। हाल पनि उपराष्ट्रपति भएर उनले देश चलाउने योजना बुनेको छन्।

तर राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरेका प्याकियोले डुटेर्ते शानलाई चुनौती दिने निश्चित भएको छ। प्याकियो विश्वले मन पराएका व्यक्ति हुन्। उनको लोकप्रियता फिलिपिन्समा पनि उत्तिकै छ। डुटेर्तेको शासनबाट डराउने गरेका नागरिकको लागि प्याकियो उपयुक्त राष्ट्रपति हुनसक्छन्।

प्याकियोले डुटेर्तेको शासनकालामा देशमा भ्रष्टाचार बढेको आरोप लगाउने गरेका छन्। प्याकियोले राष्ट्रपति बनेमा गरिबी हटाउन र भ्रष्टाचार रोक्न काम गर्ने बताएका छन्।

उनले भ्रष्टाचार गरेको ठहर भएका राजनीतिज्ञलाई समेत जेल हाल्ने चेतावनी दिएका छन्। उनले भनेका छन्,‘मेरो पुरै जीवनमा मैले कसैसँग झुकेको छैन र झुक्ने छैन।’ एपी


प्रतिक्रिया दिनुहोस्