गरिब–मजदुरका नायक भनेर चिनिने सोनु सुदमाथि २० करोड कर छलीको आरोप!

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : ०३


कोरोना प्रकोपका बेला गरिब तथा मजदुरको नायक बन्न सफल बलिउड अभिनेता सोनु सुदको घर र होटलसहित ६ स्थानमा भारतको आयकर विभागले छापा हानेपछि यो विषय चासको विषय बनेको छ।

लकडाउनका कारण विभिन्न शहरमा अलपत्र परेका मजुदरलाई खान खुवाउने र गाडीको व्यवस्था गरेकै कारण सोनुको चर्चा विश्वभर ह्वात्तै चुलिएको थियो। भारतका अधिकाँश मानिसले सोनु सुदलाई भगवानकै संज्ञा दिएका छन्।

यसबीचमा उनको कार्यालय, घर तथा होटलहरुमा आयकर विभागले ३ दिनसम्म छापा हाने र कागजातहरु अनुसन्धानको लागि लगे।

यतिबेला सोनु सुदमाथि २० करोड भारु कर छली गरेको आरोप लागेको छ। आयकर विभागले आइतबार दिएको जानकारी अनुसार अनुसन्धानमा सोनुले कर छली गरेको देखिएको हो।

सोनुको बैंक खाता, आम्दानीको श्रोत, खर्च र आर्थिक अवस्थाको बिषयमा छानविन गरिएको थियो। सोनुले देशका गरिब र भोकालाई सहयोग गर्न आफ्नो फाउन्डेसनमार्फत विदेशबाट करोडौं रकम प्राप्त गर्दै आएका थिए।

यिनै रकमहरु सोनुले हिनामिना गरेको आयकर विभागकको भनाइ छ। अगष्ट २७ मा मात्र सोनुलाई दिल्लीको आम आद्मी पार्टीको सरकारले स्कुलका छात्राहरुसँग जोडिएको एक कार्यक्रमको ब्रान्ड एम्बेसडर बनाएका थिए। सामाजिक संजालमा सोनु अरविन्द केजरीवालको पार्टीसँग जोडिन लागेकाले पनि छापा मारिएको आशंका गरिएको थियो।

आम आद्मी पार्टी सत्ताधारी दल भारतीय जनता पार्टीको कटु आलोचक हो। तर आयकर विभागले राजनीतिक विषयका कारण सोनुमाथि अनुसन्धान नभएको बताएको छ।

सोनुको प्रतिक्रिया
आफूमाथि करोडौं भारु कर छली गरेको आरोप लगाएपछि सोनु सुदले समयले सबै उत्तर दिने बताएका छन्। उनले सामाजिक संजालमा भनेका छन्,‘सँधै आफ्नो पक्षबाट कहानी भन्न जरुरी छैन त्यो समयले बताउनेछ।’

उनले कर छलीको आरोपलाई झुठो र साँचो केही नभनी भनेका छन्,‘मैले आफैंसँग यो प्रतिज्ञा लिएको छु कि म भारतका नागरिकको सेवामा दिल ज्यान दिएर लागि पर्नेछु। मेरो फाउन्डेसनको एक–एक रुपयाँ ज्यान जोगाउन र आवश्यक भएकालाई सहयोग गर्न खर्च हुन्छ। यस अलावा मैले आफैंले कमाएको पैसा मानवीय सहयोगको लागि खर्च गरेको छु।’ बीबीसीहिन्दीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्