अकस सम्झौताप्रति उत्तर कोरियाको पनि असन्तुष्टी, दियो यस्तो चेतावनी…

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : १८


अमेरिका, बेलायत र अस्ट्रेलियाबीच हालै त्रिकोणात्मक गठबन्धनको लागि अकस सम्झौता भएको थियो। सो सम्झौतालाई फ्रान्स र चीनले विरोध गर्दै आएका छन्।

यसबीचमा उत्तर कोरियाले पनि अकस सम्झौताप्रति असन्तुष्टी देखाएको छ। उत्तरले अमेरिकाको आलोचना गर्दै अकस सम्झौताले आफ्नो देशलाई कुनै असर गरेको खण्डमा आफूले त्यसविरुद्ध उपाय खोज्ने चेतावनी दिएको छ।

उत्तर कोरियाको विदेशमन्त्रालयका एक अधिकारीले सोमबार एक बयान सार्वजनिक गर्दै भनेका छन्,‘अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको सम्झौता ज्यादै खतरनाक कारवाही हो जसले एसिया–प्रशान्त क्षेत्रको सुरक्षा सन्तुलन नष्ट गरिदिन्छ र हतियारको प्रतिस्पर्धालाई बढावा दिन्छ।’

ती अधिकारीका अनुसार उत्तरले यो विषयलाई निगरानी गरिरहेको छ। यदी यो सम्झौताले उत्तर कोरियामाथि थोरै मात्र नकरात्मक असर गरेपनि आफूले अकसविरुद्धको अभियान चलाउनुपर्ने उत्तरको चेतावनी छ।

अकस सम्झौतामा एसिया–प्रशान्त क्षेत्रमा चीनको आक्रामक गतिविधिविरुद्ध एक भएर उभिने उल्लेख गरिएको छ। यस्तै अमेरिका र बेलायतले अस्ट्रेलियालाई हतियार प्रदान गर्न सहयोग गर्नेछ। अस्ट्रेलियालाई आठ वटा परमाणु उर्जाबाट संचालित हुने पनडुब्बी दिइनेछ।

आफूविरद्ध तीन देशको सम्झौता भएपछि चीन चिढिएको हो। फ्रान्स भने आफूले अस्ट्रेलियालाई हतियार बेच्न नपाएर रुष्ट भएको हो। यसअघि अस्ट्रेलियाले फ्रान्सबाट पनडुब्बी खरिद गर्ने अरबौ डलरको सम्झौता भएको थियो। अकस सम्झौताले आफूलाई घाटा भएपछि फ्रान्स रिसाएको हो। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्