पीएसजीको शत प्रतिशत जितमा नेयमार र इकार्डीको गोल

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ५६


काठमाडौं । फ्रान्सको फ्रेन्च लिगा वानमा पेरिस सेण्ड जर्मेन (पीएसजी)ले शत प्रतिशत जितलाई निरन्तरता दिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओलम्पिक लियोनलाई प्रतिस्पर्धात्मक खेलमा २–१ गोल अन्तरले पराजित गर्दै शत प्रतिशत जितलाई निरन्तरता दिएको हो ।

लगातार छैठौं जित निकाल्ने क्रममा पेरिसका लागि नेयमार र माउरो इकार्डीले एक÷ एक गोल गरे । पराजित लियोनको लागि लुकास पाक्वेटाले गोल गरे । खेलमा अग्रता भने लियोनले लिएको थियो । दोस्रो हाफको ५४ मिनेटमा लुकासले भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

६६ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पेरिसलाई बराबरीमा ल्याए । ८२ मिनेटमा मैदान प्रवेश गरेको माउरो इकार्डीले ९० मिनेटपछि थपिएको ३ मिनेटमा गोल गर्दै पेरिसलाई महत्वपूर्ण ३ अंक दिलाए । यसै सिजन क्लबमा अनुबन्धन भएका मेसी यस खेलमा समेत गोल बिहिन रहे । सुरुवाती एघारबाट सुरुवात गरेका मेस्सी ७६ मिनेटमा मैदान बाहिरिएका थिए ।

जितसँगै पेरिसले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । ६ खेलमै जित निकालेको उसको १८ अंक छ । पराजित लियोन भने ६ खेलबाट ८ अंकसहित नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्