जिपको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ८ : ००


बैतडी । बैतडीको पाटन नगरपालिका-६ मा जिपले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उद्धव जोशीको उपचारका क्रममा आइतबार निधन भएको छ।

पाटन नगरपालिका-६ निवासी जोशीको उपचारका क्रममा काठमाडौंमा निधन भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

गत बुधबार बैतडीको पाटन नगरपालिका-६ बेडौतीमा से १ ज ६३४ नम्बरको जिपले मोटरसाइकलमा सवार जोशीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका जोशीलाई बुधबार जहाज चार्टर गरेर उपचारका लागि नेपालगंज लगिएको थियो।

नेपालगंजमा उपचार नभएपछि उनलाई थप उपचारका लागि शनिबार मात्र न्युरो अस्पताल काठमाडौं लगिएको थियो। उपचारकै क्रममा जोशीको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

बुधबार दुर्घटना भएपछि जिप चालक ज्ञानेन्द्र भट्टराईलाई भने प्रहरीले सोही दिन नियन्त्रणमा लिइसकेको छ।


प्रतिक्रिया दिनुहोस्