वर्तमान संविधान जनता र राष्ट्रको होइन्, नयाँ जनसंविधान निर्माण गर्नुपर्छ: विप्लव

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ४३


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बहुसङ्ख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण जनसमुदायको सहभागितामा जनमतसङ्ग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्।

महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायद्वारा सञ्चालित सङ्घर्षहरूप्रति समर्थन रहेको बताएका हुन्।

महासचिव विप्लवले नेपाली जनताको आकाङ्क्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुुन नसक्ने भन्दै राजनैतिक प्रक्रियामा अघि बढ्न सम्पूर्ण राजनीतिक शक्ति बौद्धिक नागरिक समुदाय र आम जनसमुदायमा हार्दिक अपिलसमेत गरेका छन्।

महासचिव विप्लवले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘नेपाली जनताको आकाङ्क्षा र वास्तविक अधिकारलाई सम्बोधन गर्न असफल नेपालको वर्तमान संविधान जनता र राष्ट्रको संविधान हुन सक्दैन। केहि निश्चित नेताहरूको स्वार्थको मोलतोल र सहमतिमा जवरजस्ती थोपरीएको यो संविधान आम नेपाली जनताका लागि स्वीकार्य छैन। वर्तमान संविधानसँग असहमत र अग्रगामी परिवर्तनका लागि विभिन्न उत्पीडित जनसमुदायद्वारा सञ्चालित सङ्घर्षहरूप्रति हाम्रो समर्थन रहेको छ।’


प्रतिक्रिया दिनुहोस्