केन्द्रीय कमिटीलाई पूर्णता दिन र जिल्ला इन्चार्ज तोक्न नेकपा एसको बैठक बस्ने

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : १३


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिन र ७७ जिल्लामा पार्टी इन्चार्ज तोक्नका लागि स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाएको छ।

भोलि (सोमबार) पार्टी स्थायी कमिटी बैठक पार्टी मुख्यालय तीनकुने र केन्द्रीय कमिटी बैठक पर्सि (मंगलबार)क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बोलाइएको केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिइन्। नेकपा एमालेबाट अलग भएपछि नेकपा ९एस०को पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न थालेको हो।

उनका अनुसार दुवै बैठक पार्टीको सांगठनिक एकतामा केन्द्रित हुनेछन्।

स्थायी कमिटीले पारित गरेका प्रस्तावलाई केन्द्रीय कमिटीमा पेस गरिनेछ।

उनले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार र ७७ जिल्लामा इन्चार्ज तोकेर केन्द्रीय कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्ने बताइन्।

यस्तै, बैठकले सातवटै प्रदेशमा प्रदेश कमिटी निर्माण गर्दै प्रदेश अध्यक्षसमेत बनाउने एजेण्डा छ।

नेकपा (एस)मा २५१ केन्द्रीय कमिटी बनाउने भनिएकामा अहिले ११५ जना रहेका छन्।

१३६ जना केन्द्रीय सदस्य मनोनीत गरेर कमिटीलाई पूर्णता दिइने बताइएको छ।

यसैगरी बैठकले आगामी २० असोजमा हुने राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रस्तावमाथि छलफल गर्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए।

उनका अनुसार बैठकमा पार्टीको तीन महिने सांगठनिक कार्ययोजना बनाउने एजेण्डासमेत छ।


प्रतिक्रिया दिनुहोस्