तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ४ : ५९


सुर्खेत । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन्।

तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन्।

बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए।

वडाध्यक्षले अर्काको श्रीमती भगाएर तेस्रो विवाह गरेका थिए। वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टलाई समेत माफी पाएकी छन्।

बहुविवाह गरेको वडा अध्यक्षका दम्पतीसहित सात जनालाई माफी दिइएको छ। संविधान दिवसको अवसरमा असल चालचलन भएका सातजनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ।

संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ। कैद मिनाहा हुनेमा ६ पुरुष र एक महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ।

माफी पाउनेमा बहुविवाहका पाँच, कर्तव्य ज्यानका एक र हातहतियार मुद्दाका एक रहेका जेलर बलबहादुर केसीले बताए।


प्रतिक्रिया दिनुहोस्