इलाम । अनेरास्ववियु इलामले आयोजना गरेको अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला विजेता बनेका छन्।
अनेरास्ववियुले ‘वैदेशिक शिक्षामा नेपाली युवाहरूको पलायनः समस्या र समाधान’ शीर्षकमा निबन्ध प्रतियोगिता गराएको थियो।
प्रतियोगिताको विजेता बनेका कोइरालाले ३५ हजार आठ सय रुपैयाँ नगद प्राप्त गरेका छन्। तीन सय पूर्णाङ्कको प्रतिस्पर्धामा उनले २३८ अंक प्राप्त गरेका थिए।
प्रतियोगीतामा खोटाङ राजापानीका केशव भण्डारी दोस्रो भएका छन्। उनले २३ हजार आठ सय रुपैयाँ प्राप्त गरेका छन्। भण्डारीले २३७ अंक प्राप्त गरे।
इलामको देउमाई नगरपालिकाकी मनिषा अधिकारी तेस्रो भइन्। अधिकारीले ११ हजार आठ सय रुपैयाँ पाएकी छन्।
अधिकारीले २३६ अंक प्राप्त गरेको अनेरास्ववियु इलामका संयोजक मिलन खत्रीले जानकारी दिए।
अनेरास्ववियले सहिद रत्न वान्तवाको स्मति दिवस पारेर गत २७ चैतमा अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताको घोषणा गरेको थियो भने संविधान दिवसको अवसर पारेर प्रतियोगीताका विजेताहरूको नाम सार्वजनिक गरेको हो।
प्रतिस्पर्धीलाई निबन्ध पठाउन दुई महिनाको समय दिइएको थियो।
प्रतिस्पर्धामा ४० जना सहभागी थिए। त्यसमध्ये एकजना भारतीय थिए भने विदेशमा बसोबास गर्ने चारजनाले प्रतिस्पर्धामा भाग लिएका थिए।
निबन्ध प्रतियोगितामा प्रतिस्पर्धा गर्न उमेर र भूगोलको सीमा तोकिएको थिएन।