आर्केस्ट्रामा डान्स गर्ने बेला झडप : एकजनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ४ : ४०


महोत्तरी । आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झडप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा वडा नम्बर २ का रामप्रसाद यादव रहेको पालिकाका अध्यक्ष रामकुमार यादवले जानकारी दिए।

अध्यक्ष यादवका अनुसार आर्केस्ट्रा नृत्य वडा नम्बर ७ स्थित मुसहर बस्तीमा भएको थियो। मुसहर समुदायका युवा र मृतक रामप्रसाद पक्षमा राति नै झगडा भएको र पुन: बिहान झगडा हुँदा यादवको ज्यान गएको हो।

झडपमा मृतक यादवका दुई छोरा गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ।

बर्षेनि विश्वकर्मा पूजाको अवसरमा आर्केस्ट्रा नृत्यकै कारण दुर्घटना निम्तिरहेको गुनासो बढ्दै आएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत आर्केस्ट्रा नृत्य रोक्ने भन्दै सजगता अपनाएको थियो।

नृत्यकै लागि भारतबाट आएका तीन दर्जन कलाकारलाई प्रहरीले बाटैबाट फर्काएको थियो। स्थानीयले भने प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै उक्त अश्लील नृत्यलाई जारी नै राखेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

घटनाको संलग्न भएको आसङकामा स्थानीय दुईजना युवालाई प्रहरिले नियन्त्रणमा लिएको छ। दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

विशाल बस्नेत/न्युज कारखाना


प्रतिक्रिया दिनुहोस्