आफन्तलाई पदक दिएकोप्रति ओलीको व्यंग्य -‘के आज श्रीमतीको मुख हेर्ने दिन हो?’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  २ : ३८


काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देउवा नेतृत्वको सरकारले घोषणा गरेको मानपदवीप्रति असन्तुष्टि जनाएका छन।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई विभूषित गर्ने घोषणा गरेकी छन।

तर, अध्यक्ष ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरे।

संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पत्नी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बाबुलाई दिइएको पदकप्रति आक्रोश पोखेका हुन।

संविधान दिवसको अवसरमा सरकारले दाहाल पत्नी सीतालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र नेपालका पिता मंगलप्रसाद उपाध्यायलाई मरणोप्रान्त सुप्रसिद्ध प्रबल जनसेवाश्री विभूषण दिने निर्णय गरेको छ।

संविधानका लागि आहुति दिने सहिदका परिवार, सन्तानलाई दिनुपर्ने पदवी सरकारले आफूनिकटहरुलाई दिएको ओलीको टिप्पणी छ।

ओलीले भने–‘७० दिनमा सरकारले पूर्णता पाउन सकेको छैन। कति हाइसञ्चो हेर्नुस् त। कति हाइसञ्चो। आज संविधान दिवस। यो संविधान दिवसलाई जनताले आफ्नो संविधान दिवस ठान्नुपर्ने, यतिबेला जनताको पराक्रमी सन्तानले सम्मानित हुन पाउनुपर्ने। सम्मानित भएको अनुभुती गर्न पाउनुपर्ने। गर्व गर्नुपर्ने। बा लाई सम्मान । श्रीमतिलाई सम्मान । कस्तो बिडम्बना यस देशको कस्तो भोका जुकाहरु पुगेका छन् शासनमा? लाज लाग्छ संविधान दिवसका दिन बोल्दा। संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा, यो सफलता पाएकोमा सहिदका सन्तानले गर्व गर्न पाउनुपर्ने। सहिदका आमा बाबुले गर्व गर्न पाउनुपर्ने। घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने। आज त बाउको मुख हेर्ने दिन हो? श्रीमतीको मुख हेर्ने दिन हो? छोराछोरीको मुख हेर्ने दिन हो? कस्तो लालसा? कस्तो भोक? कस्तो आकांक्षा?’


प्रतिक्रिया दिनुहोस्