दलीय भागवण्डामा वितरण गरिएको भन्दै पदक अस्वीकार गर्नेको लहर

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ०४


काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ९ सय ३ जना व्यक्तिलाई विभिन्न मानपदवी, विभूषण र अलंकार प्रदान गर्ने निर्णय गरेको थियो।

मन्त्रीपरिषद्को निर्णयमा  राष्ट्रपतिले वितरण गर्ने विभुषणमा नेताहरुले आफ्नालाई पदक दिलाएको भन्दै सधै विरोध हुँदै आइरहेको बेला यो पटक पनि केही फरक देखिएन।

अहिले सरकारमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पहुँचका आधारमा आफ्नालाई दिलाएपछि विरोध बढेको छ । ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको नाम पनि समावेश छ।

माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ भने प्रचण्डकी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गर्ने निर्णय सरकारले गरेको छ।

राष्ट्रका लागि योगदान पु¥याएका व्यक्तिलाई दिइने भनिएको पदक पछिल्लो समय राजनैतिक लाभ दिलाउन सघाउनेहरुलाई प्राथमिकतामा राखेर प्रदान गर्न थालिएपछि असन्तुष्टि जनाउँदै धेरै व्यक्तिले पदक अस्वीकार गर्दै आइरहेका छन् । पदक अस्वीकार गर्ने व्यक्तिहरुले पदक ग्रहण गरेर पनि स्वंय सम्मानित हुने अवस्था नभएको तथा पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेको बताएका छन् ।

यसरी पदक अस्वीकार गर्नेमा पूर्वमन्त्री पीएल सिंह देखि चर्चित कार्टुनिस्ट रविन सायमी सम्म रहेका छन् । पूर्वमन्त्री सिंहले र्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको बताएका छन् । सिंहलाई सरकारले ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । यस्तै कार्टुनिस्ट सायमी पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेको भन्दै आफूले अस्वीकार गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘सरकारले मलाई ुप्रवल जनसेवा श्रीु बाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभुषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’

यसैगरी न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले पनि पदक अस्वीकार गरेका छन्। उनले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका हुन्। थापाले पटक पटक अस्वीकार गरिआएको तर यो पटक आफूलाई सोध्दै नसोधी नाम समावेश गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद। विगतमा मलाई पदकका लागि पटक-पटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु। यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ। सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु।’

उनले राज्यले सम्मान नै गर्नुहुन्न भन्ने नभई स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्ने बताएका छन् । ‘कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ,’ उनले लेखेका छन् ।

पत्रकार नारायण अमृतले पनि आफुलाई प्रदान गर्ने भनिएको पदक नलिने घोषणा गरेका छन् । उनले विना खबर, विना प्रक्रिया र विना मापदण्ड वितरण गरिने पुरस्कारमा दलीय भागवण्डाको स्पष्ट दपर्ण देखिने भन्दै पदक नलिने बताएका हुन् ।

संविधान दिवसमा बाँडिने पदक, अलङ्कारलाई बिस्कुनको संज्ञा दिँदै उनले भनेका छन्, ‘संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्शी प्रक्रियाप्रति म सण्धैं असहमत हुँदै आइरहेको छु ।’

‘यसपटकको लाममा मेरो पनि नाम देखेँ। बिनाखबर,बिनाप्रक्रिया र बिनामापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दर्पण देखिन्छ’, उनले भनेका छन्, ‘कसैलाई लागेर ‘फलानाको नाम पनि यो शीर्षकमा राखिदिऊँ न’ भनेर हचुवाको भरमा नाम समाविष्ट गरिने प्रक्रियाले खास योगदान दिने व्यक्तिलाई अवमूल्यन समेत गर्छ भन्ने मर्म कहिले बुझिएला ?’

‘त्यसैले, त्यो लामबाट मेरो नाम झिकियोस्। यसरी दिने पुरस्कारका लागि म योग्य छैन भन्दै म यो भागबण्डा अस्वीकार गर्छु’, उनले थपेका छन्, ‘दुई दशक भन्दा अघिदेखि पत्रकारिताको मूलधारमा सक्रिय छु, विवेकलाई साक्षी राखेर पेशागत मर्ममा अझै सक्रिय रहिरहनेछु।’


प्रतिक्रिया दिनुहोस्