एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुन्छन् : ईश्वर पोखरेल

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ५७


काठमाडौं । नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेबाट चोइटिएर गएकाहरु समाप्त हुने बताएका छन।

शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेबाट चोइटिएर जानेहरुको भविष्य नभएको बताए।

उनले एमालेको चरित्र विभाजन र विखण्डन नभइ एकताको पक्षपोषण गर्ने रहेको उल्लेख गर्दै विगतमा भएको विभाजन पनि नटिकेको बताए।

विभाजनको भविष्य अन्धकार रहेको र विभाजन धेरै नटिकेर समाप्त हुने उनले बताए। उनले भने – ‘अहिले देखा परेको नकारात्मक धार को को नेता गए, कोको नेताहरु चोइटिएर गए त्यो छोडिदिनुस् । म एउटा कुरा भन्न चाहान्छु, त्यो नकारात्मक धार, बिग्रहको धार, बिभाजनको धार त्यो सकिनेछ समाप्त हुनेछ । त्यसको भविष्य छैन । त्यो अन्त्य हुनेछ भन्नेकुरा तपाईहरुलाई म भन्न चाहान्छु । किनभने हाम्रो एउटा चरित्र के भएको छ भने नेकपा(एमाले)ले बोकेको चरित्र भनेको एकताको पक्षपोषण गर्ने, विभाजन होइन, विखण्डन होइन, एकताको पक्षमा दृढतापूर्वक उभिने नेकपा(एमाले)को चरित्र हो । विभाजित भएर जानेहरु, चोइटिएर जानेहरु, ति रहने छैनन् । ति समाप्त हुनेछन् । हिजोदेखिका सबै कुराहरु हामी सम्झना गरौँ । विभाजन टिकेन । विभाजन थामिएन । विभाजनको भविष्य अन्धकार थियो । अहिलेपनि अन्धकार छ । त्यो टिक्दैन । त्यो समाप्त हुन्छ भन्नेकुरा बुझ्नुपर्ने जरुरत छ । यो राष्ट्रिय आवश्यकतालाई वेवास्ता गरेर जुन एउटा गलत कर्म भएको छ, त्यसको अन्त हुनु स्वभाविक हो ।’

कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले निजामती सेवामा भ्रष्टाचार मौलाएको भन्दै निजामती सेवा भित्र सुद्धिकरण आवश्यक रहेको बताए।

उनले भ्रष्टाचारको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गरे । उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारीप्रति उदासिन हुने हो भने देशको विकास नहुने बताए।

उनले भने – ‘प्रशासनबाट, निजामती कर्मचारीबाट सत्ता सञ्चालनमा भ्रष्टाचारलाई उन्मुलन गर्न जरुरी छ । भ्रष्टाचारको अन्त्य नगरीकन, त्यसलाई नियन्त्रण नगरीकन देशलाई समृद्ध बनाउन सकिदैनँ । प्रशासन भित्र ठुलो सुद्धिकरण अभियान हामीले चलाउनु जरुरी छ । विकासका फाइलहरु, योजनाका फाइलहरुलाई हाम्रा कर्मचारीहरुले समयमा फैसला नगर्ने, निर्णय नगर्ने, त्यसलाई टुंगोमा नपु¥याउने, विकास कसरी हुन सक्छ ? त्यो फाइल अगाडी बढाउन उनीहरुले त्यसबापत् कुनै सुविधाको आश गर्छन् भने यो किसिमले कसरी विकास हुन सक्छ । यो ढंगको हामी देख्छौँ प्रशासन तन्त्रमा । जनताप्रतिको उदासिनता, आफ्नो जिम्मेवारीप्रतिको उदासिनता हो । जवाफदेहिता हामीमा भएन । जनताप्रति हामी समर्पित भएनौँ । हामीले जनताको सेवकको रुपमा होइनकि जनताको मालिकको रुपमा आफुलाई ठान्यौँ भने देशले कसरी प्रगति गर्न सक्छ?’

उनले प्रशासन सञ्चालनको कार्यशैलीमा आमुल परिवर्तन गर्नुपर्ने पनि बताए।

प्रशासनलाई उच्च प्रविधिहरुसँग जोड्दै आधुनिकीकरण गर्न जरुरी रहेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्