एमाले निकट अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल चयन

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ४८


नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु अध्यक्षको जिम्मेवारी सुनिता बराललाई दिइएको छ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बराललाई अध्यक्षमा निर्वाचित गरेको हो।

निवर्तमान अध्यक्ष ऐन महरले बैठकमा राजीनामा दिएपछि बरालको अध्यक्षतामा ४०६ सदस्यीय केन्द्रीय कमिटी पुनःगठन गरेको सचिवालय सदस्य नारायण घर्तीले जानकारी दिए।

पुनःगठित केन्द्रीय कमिटीले नै आगामी अखिलको २३औँ महाधिवेशन गराउने उनले बताए।

यस्तै उनका अनुसार बैठकले आगामी चैत २४ देखि २६ गतेसम्म अखिलको २३औँ महाधिवशेन गर्ने निर्णय गरेको छ। अहिलेको महाधिवेशन विसं २०७३ यता हुनसकेको थिएन।

नवनिर्वाचित अध्यक्ष बराल अखिलको केन्द्रीय सदस्य, सचिवालय सदस्य, सचिव र उपाध्यक्ष सकेकी छन।

उनी अखिलमा महिलाबाट अध्यक्ष बन्ने तेस्रो हुन। यसअघि रामकुमारी झाँक्री र नवीना लामा पनि अखिलको अध्यक्ष भइसकेका छन्।

त्यस्तै सङ्गठनको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडालले जिम्मेवारी पाएका छन्।

अखिलबाट निवर्तमान अध्यक्ष ऐन महर, उपाध्यक्ष रश्मी आचार्य, महेश बर्तौला र शैलेश लामाले बिदा लिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस्