तानाशाहीले चुनाव हुन दिएनन्, चुनावपछि आइसका डल्ला जसरी बिलाउँछन्ः ओली

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : २५


पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ महिनापछि हुने आम चुनावपछि वर्तमान गठबन्धन सरकार फ्रिजमा जमेको आइसका डल्ला जसरी बिलाउने बताएका छन्।

हालको गठबन्धन सरकार र पार्टीहरु प्राकृतिक रुपमा जमेको आइस नभएर फ्रिजमा जमेको आइस भएको र बाहिर आउनासाथ अर्थात् चुनाव हुनासाथ बिलाउने ओलीको दाबी छ।

नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका उनले यस्तो बताएका हुन्।

सो क्रममा उनले पुनः यो सरकार जनादेशबाट नभएर परमादेशबाट बनेको सरकार भएको पनि उल्लेख गरे। उनले भनेका छन्,‘अस्वभाविक उद्देश्यका साथ सरकार बन्यो। यो जनादेशबाट बनेको सरकार होइन परमादेशबाट बनेको सरकार हो।‘

उनले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको र गैरजिम्मेवार रहेको पनि आरोप लगाए। उनले आफूले चुनाव गरौं भन्दा आफूलाई प्रतिगमन भन्दै विरोध गएको उल्लेख गरे। १४ महिनापछि यो सरकारलाई चुनाव गराउनै पर्ने बाध्यता भएको र चुनावपछि यो सरकार र गठबन्धनमा रहेका पार्टी हराउने उनको भनाइ छ।

उनी भन्छन्,‘यो तानाशाही सरकार र गठबन्धन फ्रिजबाट बनेका आइसका डल्ला हुन्, आफैं जमेको आइस होइनन्। यी डल्ला बाहिर निकालेपछि पग्लिहाल्छन्।’

सो क्रममा उनले कर्मचारीतन्त्र स्वस्थ र सक्रिय भएमात्र देश विकास हुने पनि जनाए।


प्रतिक्रिया दिनुहोस्