अफगानिस्तानमा पुरुष विद्यालय खुले, महिलाको बारेमा निर्णय भएको छैन

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  २ : ०८


अफगानिस्तानमा तालिबानको शासन लागू भएपछि पहिलोपटक विद्यालयहरु खुला भएका छन्। तर हाल पुरुष विद्यालय मात्र खुलाइएको छ। महिलाले पढ्ने भनिएको विद्यालय खोलेको विषयमा कुनै जानकारी दिइएको छैन।

तालिबान सत्तामा आएको करीब एक महिनापछि विद्यालय खुल्न थालेका हुन्। अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय मदरासाहरू शनिबारदेखि सञ्चालनमा आएका छन्।

मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन–अध्यापनमा फर्किन आग्रह गरेको छ। यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन्।

केही विद्यालयमा कक्षा ६ सम्म बालिकाहरुले अध्ययन गरिरहेको जनाइएको छ र केही महिला विद्यार्थी विश्वविद्यालय गएको पनि खबर छ। यद्यपी औपचारिक रुपमा विद्यालय खोलिँदा महिलाबारे केही उल्लेख गरिएको छैन।

यसअघि तालिबान शिक्षा मन्त्रालयले महिलाहरुले विद्यालय जान पाउने तर उनीहरुले शरीर ढाक्ने कपडा, बुर्का लगाउनुपर्ने बताएको थियो। महिलाले पुरुषसँग एकै कक्षामा बस्न नपाउने पनि तालिबानको नियम छ। शुक्रबार मात्र तालिबानले महिलाको हक र अधिकार सुनिश्चित गर्ने महिला मन्त्रालय खारेज गरेका थिए। रोयटर्स


प्रतिक्रिया दिनुहोस्