पेले आईसीयूमा, भन्छन्ः साथीहरु म निको हुँदैछु

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : ४१


विश्व फुटबलका महान खेलाडी पेले फेरि अस्पताल भर्ना भएका छन्। बीबीसीका अनुसार पेले ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका लागि भर्ना भएका छन्।

उनको यतिबेला सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको छ। हालै पेलेको कोलोनबाट शल्यक्रिया गरेर ट्युमर निकालिएको थियो। बुधबार मात्र उनी अस्पतालबाट डिस्चार्च भएका थिए।

तर, अस्पतालबाट डिस्चार्च भएको तीन दिनपछि फेरि उनलाई अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य खराब भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

पेलेले सामाजिक संजालबाट आफु ठिक हुँदै गएको जानकारी दिएका छन्। बीबीसीका अनुसार पेलेले भनेका छन्,‘साथीहरु म निको हुँदैछु। आज मलाई परिवारहरु भेट्न आएका थिए र म लगातार मुस्कुराईरहेको छु। तपाइँहरुको मायाको लागि आभारी छु।’

‘द ब्लाक पर्ल’ ले चिनिने ८० वर्षीय पेले तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी हुन्।
पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि दिलाएका थिए ।

पेलेले २१ वर्षे फुटबल करियरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका थिए। ब्राजिलका लागि उनले ९१ खेलमा ७७ गोल गरेका थिए।


प्रतिक्रिया दिनुहोस्