संविधान दिवस नमनाउने पक्षमा प्रदेश २ सरकार, संविधानमा त्रुटि रहेको भनाइ

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : २१


प्रदेश २ को सरकारले यसपटक पनि संविधान दिवस नमनाउने भएको छ। यसअघि पछिल्ला दिन वर्ष लगातार प्रदेश दुईको सरकारले संविधान दिवस मनाएको थिएन।

मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवस यसपटक पनि नमनाउने बताएका हुन्। दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी राजपाको संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा भएको थियो।

जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु छैनन्। संविधानलाई मान्दै आएको कांग्रेस र माओवादीलाई सरकारमा समावेश गराइएको छ। तर पनि यो सरकारले संविधान दिवस नमनाउने भएको हो।

‘संविधान दिवस मनाउने समय अहिले भएको छैन्’ मुख्यमन्त्री राउत भन्छन्, ‘यहीं संविधानभित्र हामी छौं र सरकारको नेतृत्व पनि गरिरहेका छौं। तथापि संविधान सेलिब्रेट गर्ने अहिले समय आएको छैन्।’

संविधान दिवस पनि नमनाउने र विरोध पनि नगरी मौन भएर बस्ने उनले बताए।

संविधानमा अहिले पनि संघीयता, गणतन्त्र, समानुपातिक समावेशिता, केहि मौलिक हकअधिकार हुँदा हुँदै पनि संविधानमा रहेका त्रुटिहरु नसच्चिएसम्म संविधान दिवस नमनाउने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्