चीनबाट ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो, सोमबारदेखि लगाइने

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ३७


नेपाल सरकारले खरिद गरेको चिनियाँ खोप भेरोसेलको ४४ लाख मात्रा चीनबाट नेपाल आइपुगेको छ। शुक्रवार नेपाल आइपुगेको उक्त खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार चीनबाट ४४ लाख मात्रा खोप नेपाल आइपुगेको हो।

दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्छ। एकै पटक नेपालमा भित्रिएको खोपको यो सबैभन्दा ठूलो परिमाण हो।

नेपालमा हालसम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालको आएको खोपको पहिलो डोज असोज ४ गते देखि १४ गतेसम्म लगाइनेछ। यसैको दोस्रो मात्रा कार्तिक ४ गते देखि १४ गतेसम्म दिइनेछ।

खोप वितरणको योजना पहिल्यै नै तयार पारिएको र जिल्लाहरूलाई खोप वितरणको तयारी गर्न निर्देशन दिइएको छ।

खोप वितरणमा विगतका अभियानमा छुटेको समूह, उमेर र पेसा अनुसार प्राथमिकता क्रममा राखिएका समूहलाई खोप दिइने अधिकारीहरूले बताएका छन्।

अब १० वटा हिमाली जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई खोप वितरण गरिने अधिकारीहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्