तालिबानले अपनाए महिला विरोधी रबैया, महिला मन्त्रालय खारेज गरे

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ५४


अफगानिस्तानमा दोस्रोपटक तालिबानको शासन लागू भएपछि पनि महिला अधिकारको विषयलाई गौण बनाउँदै लगिएको पाइएको छ। २० वर्षपछि सत्तामा पुगेका तालिबानले महिलाप्रति पुरानै रबैया अपनाएको हो।

पहिले महिलाहरुलाई विद्यालय जान दिइँदैन थियो अहिले विद्यालय जान दिइएता पनि उनीहरुलाई नियन्त्रण गरेर राखिएको छ। महिलाहरु पुरुषसँग एकै कक्षमा पढ्न पाउँदैनन् भने उनीहरुले शरीर पुरै ढाक्ने कपडा लगाउनुपर्छ।

महिला पनि मन्त्री हुन पाउनुपर्छ भन्ने सन्दर्भमा एक तालिबानका प्रवक्ताले त महिलाको काम बच्चा जन्माउने र उनीहरुलाई मुस्लिम धर्म सिकाउने मात्र भएको बताएका थिए।

यसबीचमा महिला हक र अधिकारसँग सम्बन्धित महत्वपूर्ण मन्त्रालय मानिएको महिला मन्त्रालय तालिबानले अफगानिस्तानबाट हटाएका छन्। सो मन्त्रालय हटेपछि मन्त्रालयमा काम गर्ने महिलाहरु आक्रोशित भएका छन्।

उनीहरुले घरको कामगर्ने र आर्थपार्जन गर्ने आफूहरु मात्र भएकाले अब बाँच्ने आधार सकिएको भन्दै तालिबानलाई आफूलाई पनि गोली हानेर तथा जलाएर मार्न भनेका छन्।

बीबीसीका अनुसार महिला मन्त्रालय अगाडि अर्कै मन्त्रालयको बोर्ड राखिएको छ जहाँ भनिएको छ,‘मार्गदर्शन र आपराधिक कार्य रोकथाम मन्त्रालय’। यसरी महिला अधिकार सुनिश्चित गर्ने बताए पनि तालिबानले महिला मन्त्रालय हटाएर पुरानै कट्टर महिला विरोधी रबैया प्रस्तुत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्