चीनबाट आइपुग्यो भेरोसेल खोपको थप ४४ लाख डोज

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  २ : २८


काठमाडौं । चीनबाट कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आएको विमानस्थल स्रोतले जनाएको छ।

अधिकारीहरका अनुसार आज आएको खोप विभिन्न चरणमा देशका सबै जिल्लामा पठाइने छ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो। सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र हिजो खोप ल्याउने बताइएको थियो। तर पछि संशोधन गर्दै एक दिन पछाडी सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

चीनबाट आज आइपुगेको सो खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले बताए। उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ। ‘हामी तयार छौं। निश्चित उमेर समूहलाई लगाउँछौं’, उनले भने।

हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्